‘मिलीजुली’ मै नविताऔं समय
सम्पादकीय
सरकारले पूर्णरुप लिन नपाउँदै तनाव शुरु हुनु, सम्झौता र सम्वादमा हरेक दिन वित्नु अनि अनेक दलसँग अनुनय–विनय गरेर प्रधानमन्त्रीले सरकार चलाउन समय खर्च गर्नु ‘मिलीजुली’ सरकारको नियति नै हो । प्रधानमन्त्री शेरबहादुर देउवाको दिन पनि हाल यसरी नै वितेको छ । उनलाई भेट्न कहिले पुष्पकमल दाहाल वालुवाटार पुग्ने गरेका छन् त कहिले पुष्पकमललाई भेट खुमलटार । कहिले माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् त कहिले उपेन्द यादव, बाबुराम भट्टराईसँगको भेटमा दिन कटाउनु परेको छ । राजनीति र अन्य गतिविधिप्रति वौद्धिक समुदाय ‘पर्ख र हेर’ भन्ने नीतिमा देखिन्छ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपनि उनले चाहे अनुसार सरकारले गति लिन्छ भन्ने कुरामै सन्देह देखिएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिन न देउवाका लागि महाभारत हुने अवस्था देखिन्छ । ‘देउवा सरकार टालाटुली वटुली, कति राम्रो पुतली’ भन्ने निर्वतमान प्रधानमन्त्री केपी ओलीको व्यंग्य छ । देउवाले सत्तासहयात्री तीन पार्टी र दुई समूहलाई रिझाएर अघि बढ्न त्यति सजिलो देखिदैन । उनीहरूले पठाएका प्रतिनिधिबाट मन्त्रिपरिषद् बनाउनु पर्ने भएकाले देउवा सरकार ओलीले भने झै टालाटुली वटुली नै हुने हो कि भन्ने पनि देखिन्छ ।
प्रधानमन्त्री देउवाले आफ्नो पार्टीभित्रका समूहहरूको भागवण्डा मिलाउनु छ भने सत्ता सहयात्री दलहरूको पनि चित्त बुझाउनु पर्ने छ । धेरै सांसदलाई मन्त्री बनाइदिने आश्वासन दिएर विश्वासको मत लिइएकाले पनि देउवालाई मन्त्रिपरिषदलाई पूर्णता दिन त्यति सजिलो देखिदैन । विभिन्न पार्टीले पठाएका मन्त्रीबाट काम गर्नुपर्ने वाध्यता देउवासामु छ भने अर्कातिर उनलाई नियन्त्रण गर्न सत्ता सहयात्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाउनु पर्ने माग गरेका छन् । संयन्त्रको सल्लाह, सुझाव र आदेश अनुसार सरकारले काम गर्नुपर्ने प्रचण्डको माग छ । विगतमा केपी ओली प्रधानमन्त्री छँदा पनि प्रचण्डले यस्तै संयन्त्रको प्रस्ताव गरेका थिए । तर ओलीले मानेनन् । ओलीप्रति प्रचण्ड आक्रोशित बन्नुको एउटा कारण त्यो पनि थियो । देउवा र दाहालबीच पनि संयन्त्र नै विवादको विऊ बन्ने सम्भावना देखिन्छ ।
कांग्रेसको इन्जिनमा विभिन्न दलका डब्बा जोडेर रेलगाडी चलाउने तयारी भइरहेको छ । जनता समाजवादी पार्टीका दुई धार, एमालेको विद्रोही समूह र आन्तरिक व्यवस्थापनमा व्याप्त कांग्रेसको गतिविधि हेर्दा वर्तमान सरकारमाथि चुनौती बढ्ने देखिन्छ । कांग्रेसमा जतिसुकै तनाव भएपनि अन्य दलको तुलनामा ‘परिपक्व’ देखिएको छ तर मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना अझै नदेखिएको हुँदा पदमा लालायित कैयन कांग्रेसी सांसदले मन्त्री बन्ने आश गरेको देखिन्छ । पछिल्ला घटनाक्रम अध्ययन गर्दा अस्थिरता र अनिश्चिताका पात्र फेरिए पनि प्रवृत्ति यथावत रहने अवस्था स्पष्ट देखिन्छ । यसले वाह्य प्रभाव, राजनीतिक अन्यौल, कूटनीतिमा तरल र द्विविधा थपिने सम्भावना छ । यो अवस्थाले केही महिनामै वैकल्पिक शक्तिको उदय नभएपनि आन्तरिक राजनीतिमा भूराजनीतिक कारणले ल्याउन सक्ने प्रभावले राष्ट्रलाई कति असर पुग्ला भन्ने चिन्ता गर्न थालिएको छ ।
१८ महिना जति मात्र आयु भएको देउवा नेतृत्वको सरकारले राष्ट्रिय सुरक्षा, जनस्वास्थ्य, भ्रष्टाचार रोकथाम, कूटनीतिक, महंगी, सीमा व्यवस्थापन, भावी चुनावको चाँजोपाजो, कानून निर्माणका प्रक्रया, आन्तरिक सुरक्षा, निजामति प्रशासन, प्रहरीमा शुद्धिकरण र विभिन्न मन्त्रालयमार्फत गर्नुपर्ने काम धेरै छन् । खेल सुरु नहँुदै खेलाडी छनौटमा अल्मलिने हो भने दर्शकहरु निरास बन्न सक्छन् । तसर्थ, ‘भागवण्डा’ शव्दले बद्नाम भइरहेको समीकरण मिलाउन प्रधानमन्त्रीले तत्काल महत्वपूर्ण निर्णय गर्न नसकेमा सरकारको क्षमता, दक्षता र योग्यता विवादमा पर्ने देखिन्छ ।