नेपालमा गणतन्त्र भारतको एजेन्डा, नेपालका राजनीतिक दल निमित्त नायक मात्र : रवीन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपालमा संघीयता र धर्मनिरपेक्षता र गणतन्त्र आयातित भएको बताएका छन् । राजतन्त्र फ्याकेर गणतन्त्र स्थापना हुनुमा दक्षिणी छिमेकी भारतको हात रहेको उनको दावी छ ।
आफ्नो पार्टीभित्र छलफलका लागि पेस गरेको प्रतिवेदनाम मिश्रले संघीयता र धर्मनिरपेक्षता सँगसँगै गणतन्त्रमाथि पनि प्रश्न उठाएका हुन् । उनले संघीयता खारेज गर्नुपर्ने र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्ने माग गरेका छन् ।
मिश्र लेख्छन्– ‘राजा ज्ञानेन्द्रको प्रत्युत्तरबाट चिढिएको भारत, बालराजाको अवधारणाबाट एक कदम अघि बढेर गणतन्त्रको पक्षमा पुगेको थियो । तत्पश्चात्, गणतन्त्रको भारतीय प्रस्तावलाई कतिपय पश्चिमा राष्ट्रहरूले तथा तिनै पश्चिमा राष्ट्रहरूको धर्मनिरपेक्षताको प्रस्तावलाई भारतले समर्थन गर्ने सहमति भएपछि आमरूपमा माग नै नभएको धर्म निरपेक्षताले सुवास नेम्वाङमार्फत वैधानिकता पायो । वास्तविकता त्यही हो ।’
२०७२ सालको संविधानको मस्यौदाबारे गरिएको राय संकलनमा अत्यधिक बहुमतले नेपाल हिन्दु राष्ट्र नै रहनुपर्ने राय दिएको सार्वजनिक भइसके अवस्थामा धर्मनिरपेक्षता लेख्नु गलत भएको उनको टिप्पणी छ ।
पछिल्ला वर्षहरूमा धर्मनिरपेक्षता यो देशको धर्म र संस्कृति मास्नका लागि जस्केलाबाट घुसाइएको हो भन्ने प्रष्ट भएको मिश्रले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थाका विरूद्ध असोचनीय स्तरको विष फैलाउँदा पनि विभिन्न जातजाती, भाषाभाषी, क्षेत्र, लिङ्ग, सबै तप्कामा एकताको प्रतिकका रूपमा राजाको स्वीकार्यता उच्च देखिन्छ । हो, उनको विरोध गर्नेहरू नभएका होइनन् तर उनी पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण, जहाँसुकै जाउन्, सबै जातजाती, भाषाभाषीहरूको ठूलो तप्कामा उनीप्रतिको श्रद्धा र उनको लोकप्रियता कुनै नेताको भन्दा कम देखिँदैन । उनको जयजयकार गर्न कुनै पार्टीको निर्देशनबिना जो स्वस्फूर्तरूपमा निस्कन्छन्, ती ‘प्रतिगामी’ को विल्ला भिर्न तयार भएर निस्किएका हुन् । प्रतिगामीको विल्ला लाग्ने डरले घरमै बसेर मौन समर्थन गर्नेहरूको त हिसाबकिताब नै भएको छैन । त्यो एउटा बदलिँदो परिवेशको संकेतमात्र हो ।’
मिश्र थप्छन्( ‘माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको संस्थाप्रति पूर्ण निराशा व्यक्त गर्दै ‘राजाहरूको त एउटा बेग्लै सान थियो, अहिले त सान पनि छैन, मान पनि छैन, इज्जत पनि छैन । कस्तो भयो त हामीले बनाएको संस्था’ भनेर गरेको टिप्पणी केवल एकछिनको भावनात्मक आक्रोशमात्र होइन । त्यो गणतन्त्रवादीहरूका लागि अशुभ संकेत हो । निकट भविष्यमा हुने कुनै पनि राष्ट्रपति, तुलनात्मकरूपमा अलि राम्रा डा. रामवरण यादव र पदीय मर्यादा ध्वस्त बनाएकी विद्यादेवी भण्डारीभन्दा तात्विकरूपमा फरक हुनेछन् भनेर अपेक्षा गर्ने आधार छैन ।’