योजना आयोग उपाध्यक्षमा पौडेल नियुक्त

लुम्बिनी प्रदेश प्रमुखमा शेरचन र गण्डकीमा गुरुङलाई नियुक्त गर्ने निर्णय

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गरेको छ । बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको छ ।
युवा अर्थशास्त्री विश्व पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ०को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन् ।

उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।
अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट उनले विद्यावारिधि उपाधि प्राप्त गरेका पौडलका आर्थिक विषयमा थुप्रै लेख तथा शोधहरु प्रकाशित छन् ।
त्यस्तै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा माओवादीको सिफारिसमा अमिक शेरचन र गण्डकीमा कांग्रेसको सिफारिसमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। सरकारले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो ।