चाँडो मन्त्रीको लागि नाम दिन प्रचण्ड र उपेन्द्रलाई देउवाको आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन ढिलो भएको बताउँदै चाडो मन्त्रीको लागि नाम दिन गठवन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवलाई आग्रह गरेका छन् ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा काँग्रेस सभापतिसमेत रहेका देउवाले सो आग्रह गरेका हुन ।
मन्त्रिमण्डल विस्तारलाई पूर्णता दिएपछि मात्रै काम गर्न सजिलो हुने बताउँदै प्रधानमन्त्री देउवाले त्यस्तो आग्रह गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले एक–दुई दिनभित्रै नाम दिने बताएका छन् ।
त्यस्तै प्रधानमन्त्री देउवाले जनमोर्चा र एमालेको माधव समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका थिए । जवाफमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र सांसद दुर्गा पौडेलले आफूहरु प्रतिगमन विरोधि आन्दोलन परास्त गर्नमात्रै गठबन्धनमा सहभागी भएको भन्दै सरकारमा सहभागी नहुने दोहोर्याए भने माधव नेपलाका प्रतिनिधि विजय पौडेलले आफूहरु सरकारमा सामेल नहुने बताए ।
जनमोर्चाका अध्यक्ष केसीले आफूहरुलाई सरकारमा सहभागी हुन जनताले म्यान्डेन नदिएको बताउँदै सरकारले गर्ने राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने स्पष्ट पारे । त्यस्तै उनले एमसीसी स्वीकार्न नहुने र संघीयताबारे पुर्नविचार गर्नुपर्ने बताए । नत्र गठवन्धनबाट अलग हुने चेतावनी पनि दिए ।
संवैधानिक, राजनीतिक नियुक्तिहरुसंविधानसम्मत र न्यायपूर्ण भए सहभागी हुन सकिने केसीले बताएका छन् ।
बैठकमा सहभागी माधव समूहका नेता पौडेलले कोभिडविरुद्धको खोप र कोभिडबाट प्रभावित सवै तहका जनता र व्यवसायीलाई राहत पुग्ने प्याकेजको व्यवस्था गर्न सुझाव दिएका थिए ।
पाँच दलीय गठबन्धनमध्ये जनमोर्चा सरकारमै नजाने र एमालेको माधव समूह तत्काल सरकारमा जाने पक्षमा छैन । अहिलेको समीकरण अनुसार दुई दल सरकारमा नजाने भएकाले तीन दल काँग्रेस, माओवादी र जसपाले ६÷६ वटा मन्त्रालय भागवण्डा गर्ने तयारी छ । काँग्रेस र माओवादीले दुई–दुईवटा मन्त्रालय पाइसकेकाले अबको विस्तारमा उनीहरुले चार–चारवटा मन्त्रालय पाउनेछन् ।
माधव नेपालसँग सरकारमा सहभागिताको विषयलाई लिएर देउवा र प्रचण्डले आजै छलफल गर्ने बताइएको छ । माधव नेपालको धारणा अनुसार गठवन्धनले मन्त्रालय र मन्त्रीको संख्या भागण्डा गर्ने बताइएको छ ।