क्रियाशील सदस्यताको विवाद पाँच दिनभित्र टुंग्याउने

केन्द्रीय महाधिवेशन भदौ १६–१९ मा नै सम्पन्न गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र टुंग्याउने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले भदौ १६–१९ मा नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने र त्यसका लागि पाँच दिनभित्र सबै विवाद टुंग्याउने निर्णय गरेको बताइएको छ ।
कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय क्रियाशील छानबिन समितिका सदस्यहरूबीच आज बैठक भएको हो । बैठकपछि बोल्दै केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानबिन समिति संयोजक रमेश लेखकले पाँच दिनभित्र सबै विवाद मिलाएर पार्टीलाई निर्धारित समयमै महाधिवेशनतिर लैजाने निर्णय भएको बताएका छन् ।
क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाइसकेको वताउँदै उनले समितिबाट समाधान हुन नसकेका विषय केन्द्रीय समितिले टुंग्याउने बताएका छन् ।
नेताहरूसँगको छलफल र परामर्शपछि केन्द्रीय तहमा प्रस्तुत गरिएका विषयहरु निर्णय गर्ने गरी अघि बढ्ने उनले बताए ।
क्रियाशील सदस्यता छानबिन समिति सदस्य प्रदीप पौडेलले सप्तरी, बारा धनुषा ४, सर्लाही २, सिन्धुपाल्चोक र रसुवामा रहेको विवादबारे केन्द्रीय नेतृत्वले निर्णय गर्ने बताएका छन् ।