सके सार्वजनिक सम्पत्ति सफा राख्यौँ नसके फोहर नगरौँ
शहरीकरणको बद्लिदो परिवेश अनुसार नयाँ–नयाँ संरचनाहरु बनिरहेका छन्। ऐतिहासिक विरासत बोकेको पुरानो लाकुरी मञ्च अहिले शङ्क पार्क अथवा थ्रि–डी पार्कको रुपमा रुपान्तरण भएको छ, सदरमुकाम तम्घासमा । यो पार्क जिल्लाको तालुक अड्डाको अगाडी छ। त्यसैले जो कसैले अनुमान गर्न सक्छन् यो संरचना कति महत्वपूर्ण छ भनेर। थ्रि–डि पार्क रेसुङ्गा नगरपालिका र प्रदेश सरकारको ५०÷५० प्रतिशत साझेदारीमा ५५ लाख रकम खर्च गरी निर्माण भएको हो। यस पार्क भित्र, शङ्ख जडिट पानीको फोहरा फाल्ने, लाइटिङ लगायतका संरचनाहरु समावेश गरिएको छ।
त्यति मात्र होइन बजारको मुख्य भागमा निर्मित यो पार्क भित्र बस्नका लागि फर्निचरहरुको पनि व्यवस्था गरिएको छ। तम्घासमा कसैलाई भेट्नुप¥र्यो वा पर्खंनुप¥र्यो भने पनि यो पार्कको प्रयोग गर्न सकिन्छ। सोही सिलसिलामा एक दिन तम्घासकै रेसुङ्गा माध्यमिक विद्यालयका शिक्षक हरि थापा एक जना आफ्नो साथीलाई पर्खिनका लागि प्रवेश गर्नुभएछ । पार्कभित्र प्रवेश गर्दा कुनै डम्पीङ साइड भन्दा फरक नभएको पाएपछि तत्कालै पार्कको फोटो लिएर सामाजिक सञ्जालमा पोष्ट गर्नुभएछ।
तर पनि उहाँको मनले मानेन। लकडाउनले विद्यालय बन्द छ। पठनपाठनका कार्य अनलाइन माध्यमबाट भइरहेको छ। भौतिक रुपमा उपस्थित हुन नसकिरहेको अवस्थामा सामाजिक सञ्जालकै माध्यमबाट छलफल गरि यस हप्ता त्यस विद्यालयका शिक्षक र विद्यार्थीहरुले पार्कको सरसफाई गरेका छन्। रेसुङ्गा नगर विकास तथा वातावरण संरक्षण समितिका अध्यक्ष रामप्रसाद पन्थीले जिल्लाकै महत्वपूर्ण भागमा रहेको सार्वजनिक सम्पत्तिको संरक्षण हुन नसक्नु गम्भिर विषय भएको बताउनुभयो। सम्बन्धित निकायको ध्यान पुग्न सकिरहेको छैन्।’ पन्थीले भन्नुभयो । यसको रेखदेख सम्बन्धित निकायले गरोस भनेर सन्देश दिन खोजेको पन्थीले बताउनुभयो।
पार्क नजिकै जिल्ला प्रशासन र जिल्ला समन्वय, जिल्ला खेलकुद विकास समितिको कार्यालय छन्। निर्माणको लामो समय भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा वेवारिसे जस्तै भएको छ। संरक्षणको अभावमा रंग रोगन समेत मेटिन थालेका छन्। पार्कमा जानेहरुले फोहोर गर्ने, संरचना बिगार्ने गरेको पाइएको छ। पार्कको फोहोराबाट संकलन हुने पानीमा सडक बालबालिका पौडी खेल्ने गरेका समेत छन्।
सार्वजनिक सम्पत्तिको संरक्षण र रेखदेख गर्ने पहिलो कर्तव्य सरकारी निकायको भएपनि नागरिकहरुले पनि यसमा नजरअन्दाज गर्न नमिल्ने शिक्षक थापा बताउनुहुन्छ। यसको संरक्षण गर्न सके शहरी सुन्दरता थप्ने थापाको भनाई छ। विद्यार्थी सुशिल मरासिनी र ग्रीष्मा पाण्डेले प्रशासनकै अगाडी सार्वजनिक सम्पत्तिको किन संरक्षण हुन सकिरहेको छैन भन्दै प्रश्न समेत गर्नुभयो। सके सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ नसके फोहर नगरौँ भन्ने सन्देश उनीहरुले दिएका छन्।