दुर्गेशको ‘ख्यास्स पुतली’ विवादमा

गायक दुर्गेश थापाको गीतहरु विगत केही वर्षदेखि विवादमा तानिने गरेका छन् । यसपटक पनि उनले तीजको सन्दर्भ पारेर ल्याएको ‘बीच्च बीच्चमा ४’– ‘ख्यास्स पुतली’ लाई लिएर पनि सांगीतिक क्षेत्रमा आलोचना भइरहेको छ ।
उनको गीतले तीजको संस्कृतिमाथि प्रहार गरेको भन्दै सामाजिक सञ्जालमा यो गीतमाथि प्रतिवन्ध लगाउनुपर्ने माग उठेका छ । कतिपय स्रोता–दर्शकहरुले त यस्ता गीत सार्वजनिक हुँदा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले के हेरेर बसेको छ ? भनेर समेत प्रश्न गरेका छन् ।
यसैवीच प्रतिष्ठानले आफूहरुले त्यस्ता गीत नल्याउन आग्रह गर्ने, आग्रहलाई बेवास्ता गरे संस्थागत रुपमा बहिस्कार गर्ने जनाएको छ । सो गीत ल्याउने तयारी गरेको जानकारी पाएपछि प्रतिष्ठानले गायक थापाको ध्यानाकर्षण गराएको बताइएको छ । प्रतिष्ठानले साउन ७ गते दुर्गेशलाई ध्यानाकर्षण पत्र नै काटेको थियो तर दुर्गेशले प्रतिष्ठानको पत्रलाई बेवास्ता गर्दै गीत सार्वजनिक गरेका छन् ।
प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र प्रतिष्ठानको विकृति विसंगती न्यूनीकरण विभाग समितिका संयोजक शिव हमालको संयुक्त हस्ताक्षरमा काटिएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘‘यहाँ जत्तिको सुप्रसिद्ध कलाकारले सामाजिक रुपमा पनि आफ्नो कर्तव्य र दायित्व मनन गरी उक्त प्रस्तुतिमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत भइदिनुहुन ध्यानाकर्षणसहित अनुरोध समेत गर्दछौं । कलाकारितामा नैतिकता र इमान्दारिता नै ठूलो हो, न कि पैसा र चर्चा ।”
संस्थाको आग्रहलाई वास्ता नगरेपछि प्रतिष्ठानले थापालाई बहिष्कार गर्ने तयारी गरेको बुझिएको छ । सोही गीतको विषयमा छलफल गर्न आइतबार प्रतिष्ठान केन्द्रीय कमिटीको बैठक बस्ने भएको बताइएको छ ।
प्रतिष्ठानका एक गायक भन्छन् “प्रतिष्ठानले नैतिक रुपमा अनुरोध गर्ने हो । नमानेर कोही नाङ्गै हिड्छ भने प्रतिष्ठानले के गर्ने ? सरकारी तवरबाटै यस्ता गीत ल्याउनेलाई कारवाही हुनुपर्ने पर्छ ।”
बहिष्कार गर्दिए हुन्छ : दुर्गेश थापा
तिज गीत ‘बीच्च–बीच्चमा ४– ख्यास्स पुतली’ मा प्रयोग गरिएका आपत्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत हुन राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गायक दुर्गेश थापालाई ध्यानाकर्षण गराएको छ । तर, गायक थापा सच्याउन तयार छैनन् । उनले वहिस्कार गरे हुन्छ भन्ने ठाडो प्रतिक्रिया दिएका छन् ।
थापाले भनेका छन् ‘उहाँहरूले बहिष्कार गर्नुहुन्छ भने अब गर्दिनुस् । उहाँहरूले त जे गीत गाए पनि हुन्छ के रे । मचाहिँ संस्थामा नभएकाले मलाई ट्रयापमा पारिएको हो ।’ प्रतिष्ठाका कलाकारहरुले चाहिँ जे गाए पनि हुने भन्ने आरोप लगाउँदै थापाको दावी छ ‘मेरो जेनेरेसनले त्यस्तै गीत मन पराउनुहुन्छ । ख्यास्स भन्ने गलत टाइपको वर्ड होइन ।’