भारतको ज्यादति
काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल–भारत सीमा क्षेत्रमा ज्यादति गर्दै आएको छ । कहिले नेपाली भूमिमा प्रवेश गरेर धम्क्याउने, लुटपाट गर्ने, कुटपिट गर्ने, नेपाली भूमि मिच्ने, तारवार फाली दिने, सडक भत्काइदिनेलगायतका क्रियाकलाप गर्दै एसएसवीले दुःख दिने गरेको छ ।
शुक्रबार विहन दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका छन् । प्रत्यक्षदर्शीका अनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपुग्दै एसएसबीले फलामे डोरी निकालिदिएका थिए ।
‘धामीसँगै गएका तीन जना तुइन तरेर पारि पुगिसकेको र धामी नदीको छेउमा नपुग्दै एसएसबीले फलामे डोरी निकालिदिए पछि उनी नदीमा खसेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले एसएबसीले डोरी निकालेपछि धामी नदीमा खसेको खबर आएको बताएका छन् ।
धामीका परिवारले जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र बुझाउँदै घटनामा भारतीय एसएबसीको संलग्नताबारे छानबिन गर्न माग गरेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको बताइएको छ । पिथौरागढ डीएम कार्यालयलाई पत्रचार गरिएको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले बताएकी छिन् ।
अहिलेसम्म भारतीय पक्षबाट कुनै प्रतिक्रिया प्राप्त हुन नसकेको भट्टले बताएकी छिन् । तुइनबाट खसेर बेपत्ता भएका धामीको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
यसैवीच सो घटनाबारे छानविन गर्न सरकारले समिति बनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गठन गरेका हुन् । समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् ।
गृहमन्त्री खाँणले जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको बताइएको छ ।
त्यस्तै संयुक्त विद्यार्थी संगठनका नेताहरुले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सत्ता निकट दलका विद्यार्थी नेताहरु प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । विद्यार्थी नेताहरुले दार्चुला घटनाको विरोध र भत्र्सना गर्दै तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको विद्यार्थी नेताहरुले बताएका छन् ।