माधव पक्षलाई सरकारमा ल्याउन देउवा–प्रचण्डको जोड
बहुमतका लागि महन्थभन्दा माधव ‘कम्फरटेबल’
काठमाडौं । मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका अर्का नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार पनि छलफल भएको छ ।
बिहीबार गठवन्धनका नेताहरुबीच भएको छलफलमा माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने स्पष्ट पारेपछि कांग्रेस, माओवादी र जसपाबीच मन्त्रालयको संख्या बाँडफाँड भएको थियो । कांग्रेसले प्रधानमन्त्रीसहित आठ मन्त्रालय पाउने र माओवादी र जसपाले ७÷७ मन्त्रालय पाउने गरी भागण्डा भएको थियो । मन्त्रिपरषद्लाई जतिसक्दो चाँडो पूर्णता दिने नेताहरुले बताएका थिए । तर सरकारको बहुमत सुरक्षित गर्न र गठबन्धन जोगाउनका लागि माधव नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउनुपर्ने पक्षमा प्रचण्ड उभिएपछि देउवा मन्त्रिपरिषद्लाई पूर्ण दिन केही दिन पर्खने भएको कांग्रेस स्रोतले जनाएको छ ।
एमाले एकताको प्रयास जारी रहेको र माधव नेपाल आफ्नो समूहका केही नेताको दबाबमा परेकाले स्पष्ट निर्णय दिएका छैनन् । नेता नेपाललाई शनिवारसम्म निर्णय गर्न प्रचण्डले आग्रह गरेको बताइएको छ ।
माधव नेपाल पक्षलाई कम्तिमा ६ वटा मन्त्रालय दिन गठबन्धनका नेताहरू तयार छन् । नेपाल पक्ष संस्थागत रुपमा सहभागी हुन अप्ठेरो परेमा नेपालले सिफारिस गरेका सांसदहरूलाई स्वतन्त्र हैसियतमा मन्त्री बनाउन समेत गठबन्धन तयार प्रचण्डले सन्देश दिएका छन् ।
‘अहिले एकता भएपनि पछि ओलीले एमालेमा बस्न दिँदैनन्, तर्पाइलाई गठवन्धनतिर लाग्दै फाइदा छ’ भन्दै प्रचण्डले नेता नेपाललाई सरकारमा ल्याउन प्रयास गरिरहेको माधवनिकट एक नेताले बताएका छन् ।
नेपाल पक्ष सरकारमा नआएको अवस्थामा माओवादी र जसपाले बराबरी सात÷सातवटा मन्त्रालय पाउने र कांग्रेस ८ वटा मन्त्रालय पाउने समझदारी बनेको छ । तर माधव नेपाल पक्ष एमालेमै मिल्न गएमा सरकारलाई बहुमत कायम राख्न महन्थ ठाकुर पक्षका थप सांसदलाई मन्त्री दिनुपर्ने वाध्यतामा गठवन्धन छ ।
अहिले कांग्रेस, माओवादी, जसपाको उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद जोड्दा १३० जना छन् । बहुमतका लागि १३६ चाहिन्छ । जसपाको महन्थ पक्षले विश्वासको मत दिए पनि पार्टी निर्वाचन आयोगले विभाजन गरिसकेको अवस्थामा उनीहरुको समर्थन देउवालाई कुनै पनि बेला टुट्ट सक्छ । त्यसैले पनि माधव नेपाललाई सरकारमा सहभागी गराउँदा सरकार सुरक्षित हुन्छ भन्ने ठम्वाइ देउवा र दाहालको छ ।
माधव नेपाल समूहमा सरकारमा जाने र नजानेबारे दुईथरी मत छ । देउवालाई विश्वासको मत दिएका २२ सांसद सरकारमा जानुपर्ने पक्षमा छन् । अझ ओली समूह छोडेर माधव समूहमा गएका ८ सांसदले त मन्त्री हुने महत्वकांक्षले नै देउवलाई विश्वासको मत दिएका हुन । ओली सरकारमा वनमन्त्री रहेका प्रेम आलेले आफूलाई पर्यटन मन्त्री बनाउनुपर्ने शर्तमा ओली पक्षका आठ जना सांसदबाट देउवलाई विश्वासको मत दिलाएका थिए । उता विश्वासको मतको बेला संसद छाडेका ११ जना नेपाल पक्षका सांसदहरु सरकारमा जान नहुने र एमाले एकता जोगाउनुपर्ने पक्षमा छन् ।