सरकारको श्वेतपत्र पूर्वाग्रही रहेको पूर्व अर्थमन्त्री पौडेलको आरोप

आफूले ल्याएको भन्दा लोकप्रिय र सबैले मन पराउने बजेट ल्याउन चुनौती

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको श्वेतपत्र वास्तविक नभई पूर्वाग्रही रहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा श्वेतपत्रमाथि टिप्पणी गर्दै उनले अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा कोरोना महामारीको प्रतिकुल अवस्थाको विवरण उल्लेख गरेर अघिल्लो सरकारप्रति पूर्वाग्रह राखिएको बताएका छन् । उनले कोरोना महामारीका कारण आर्थिक गतिविधि र विकास खर्च हुन नसकेको प्रतिकुल अवस्थालाई विगतका अनुकुल अवस्थासँग तुलना गर्न नमिल्ने दावी पनि गरेका छन् ।
पूर्व अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७६÷७७ को समय विश्व अर्थतन्त्र साढे ३ प्रतिशतले ऋणात्मक हुँदा नेपाली अर्थतन्त्र २ प्रतिशत मात्रै ऋणात्मक हुनु सुखद भएको बताउ । उनले ‘कोभिड अवधिको वृद्धिदरको सहारा लिएर आर्थिक वर्ष ०७५÷७६ मा भएको ७ प्रतिशतको वृद्धिदरलाई बिर्सन खोजिएको बताएका छन् ।
पूर्व अर्थमन्त्री पौडेलले अघिल्लो सरकारले जिम्मा लिनुपूर्व पुनर्निर्माणमा ३३ अर्ब मात्र खर्च भएको र अहिलेसम्म ४ खर्ब खर्च भएको बताएका छन् । जसमध्ये २ खर्ब ऋण रहेको उनले स्पष्ट गरेका छन् ।
नेपालको अर्थतन्त्र राजस्वले चालु खर्च धान्ने र विकास खर्चका लागि ऋण लिनुपर्ने अवस्था रहेको भन्दै उनले ऋण नलिने र विकास नगर्ने होइन, ऋण लिने विकास पनि गर्ने हो भनेका छन् ।
अहिलेको सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेकोमा असन्तुष्टि व्यक्त गर्दै नेता पौडेलले आफूले ल्याएको भन्दा लोकप्रिय र सबैले मन पराउने बजेट ल्याउन चुनौती पनि दिएका छन् ।