वृद्धवृद्धा र अपाङ्गता भएकालाई घरमै कोरोना खोप दिन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले वृद्धवृद्धा र अपांगता भएका नागरिकलाई उनीहरुको घरमै गएर कोरोनाविरुद्धको खोप लगाइदिन सरकारका नाममा आदेश जारी गरेको छ ।
अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म पुग्न नसक्ने जेष्ठ नागरिक, अक्त, अपांगता भएका, दृष्टिविहीन र दीर्घरोगीहरुलाई उनीहरुको घरमै कोरोनाविरुद्धको खोप दिन आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ ‘खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घ रोगी तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्ति समेतलाई राज्यले वडातहबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी ुघरघरमा पुगी कोभिड खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिब समय तालिका तर्जुमा गरी त्यसको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्व निर्वाहका लागि कार्यक्रम संचालन गर्नु गराउनु भनी सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम ४९(२) (क) बमोजिम विपक्षीहरुको नाममा यो अन्तरिम आदेश जारी गरिएको छ।’
संविधानमा नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनी संरक्षण प्रदान गरेको सर्वोच्चले सरकारलाई स्मरण गराएको छ ।