सत्तारुढ दल नेपाली काँग्रेसमा अर्को लफडा
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो । केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।
वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।
क्रियाशील सदस्यतामा देखिएको विवादका कारण भदौको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि अर्को मिति कहिले तोक्ने भन्नेमा कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच विवाद भएको थियो । पार्टी विधान र संविधानअनुसार महाधिवेशन गर्नुपर्ने समय कांग्रेसले गुजारिसकेको छ ।
कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक जारी रहेकै समयमा उनीहरुले राजीनामा गरेका हुन ।
२२ जना आमन्त्रित केन्द्रिय सदस्यहरुले सामुहिक राजीनामा घोषणा गर्नुले पार्टी सभापति एवंम प्रधानमन्त्री शेरबहादुर देउवा निकै अफ्ठयारोमा परेका छन ।
कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । आमन्त्रित केन्द्रीय सदस्य भने तलबाटै निर्वाचित हुनुपर्ने बिधानमा व्यवस्था छ । उक्त व्यवस्था हटाउनपर्ने उनीहरुको माग रहेको बताइन्छ । संयुक्त रुपमा राजीनामा दिने २२ जनाको तर्फबाट कृष्णकिशोर घिमिरेले पत्र सभापति शेरबहादुर देउवालाई बुझाएका थिए ।
यसरी सामूहिक राजीनामा घोषणा गरेका २२ केन्द्रीय सदस्यहरुको नामावली यस प्रकार रहेको छ । नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, गोरख (आनन्द) विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल छन ।
त्यसैगरी रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी, मनोहरनारायण श्रेष्ठ, ध्रुव वाग्ले, मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ, अभिषेख प्रताप शाह, दयाराम पाण्डे, जनकराज कलौनी, भूमिबहादुर (विश्व) गुरुङ, आशाराम चौधरी, दिलीप राई, राजेश बहादुर सिंह रहेका छन ।