माधव नेपालको पार्टीले मान्यता नपाएसम्म मन्त्रिपरिषदले पूर्णता नपाउने
काठमाडौं । असार २९ गते अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही हप्ता लाग्ने देखिएको छ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल समूहले दर्ता गराएको नयाँ पार्टी सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
समाजवादी केन्द्र, नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग आफू र माधव नेपालले भेट वार्ता गरेको र मन्त्रिपरिषद् माधव नेपालको पार्टीले मान्यता पाएपछि विस्तार गर्नेबारेमा छलफल भएको बताएका छन् ।
प्रचण्डले जति छिटो पार्टीको सनाखत हुन्छ त्यति नै चाँडो मन्त्रिपरिषद् गठन हुने बताएका छन् । त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीले ल्याएको अध्यादेश संविधान र लोकतन्त्र सिध्याउने उद्देश्यको र अहिलेको अध्यादेशको लोकतन्त्र, गणतन्त्र संविधानको रक्षाको लागि भएको हास्यास्पद तर्क गरेका छन् । ओलीले पार्टी वा संसदीय दलमा ४० प्रतिशत भए पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएका थिए । तर देउवाले दुई मध्ये १ वटामा त्यो पनि २० प्रतिशत भए पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएको छ । ओलीले ल्याएको भन्दा देउवाले ५० प्रतिशत कम संख्या भए पुग्ने गरी अध्यादेश ल्याएका छन् । अनि कसरी यो लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाको लागि भयो ? प्रचण्डप्रति प्रश्न तेर्सिएको छ ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली पुँजीवादीका एउटा पात्रको भएको टिप्पणी गरेका छन् । भट्टराईले एमाले भित्र माधवकुमार नेपालहरुले गरेको विद्रोहले देशलाई नयाँ समाजवादको मोडलेतिर लैजान सकिने दावी पनि गरे । बाघ बुढो भएर पनि घाँस नखाए जस्तै आफूहरुले पनि त्यसो गर्न नहुने भट्टराईले बताएका छन् ।
कार्यक्रममा बामदेव क्षेत्रीद्वारा लिखित कृषि र समाजवाद पुस्तकको बिमोचन गरिएको थियो ।