माधव नेपाललाई जसरी पनि अध्यक्ष हुनुपर्ने रोग लागेकाले चोइटिएका हुन ः अध्यक्ष ओली

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई चार जना मान्छे बटुलेर भएपनि अध्यक्ष हुनुपर्ने रोग लागेले चोइटिएको आरोप लगाएका छन् ।
आज भक्तपुरमा आयोजित बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै अध्यक्ष ओलीले अब पार्टीलाई नयाँ ढंगले अगाडि बढाइने बताए ।
देउवा सरकारले एमालेलाई कमजोर पार्ने गलत मनसाय राखेर अध्यादेश ल्याएको बताउँदै अध्यक्ष ओलीले भने “सर्वोच्च अदालतले देशको महत्वपूर्ण आवश्यकता परेको खण्डमा मात्र अध्यादेश ल्याउन पाइने ब्याख्या गरेको थियो । तर देश र जनताको लागि आवश्यक नै नभएको अध्यादेश देउवाले ल्याएका छन् । यो गलत हो । यसको एमालेले डटेर विरोध गर्नेछ ।”
चलिरहेको संसदलाई मध्यरातमा अन्त्य गर्नु र भोलीपल्ट विहानै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु भनेको सरकारको गलत मनसाय भएको जोसुकैले पनि बुझेको ओलीले बताए ।
देशलाई कानुन आवश्यक परे अघिल्लो दिनसम्म संसद चलेको अवस्थामा किन नल्याएको भन्दै ओलीले सरकारले ल्याएको अध्यादेश एमालेलाई फुटाउन र कमजोर पार्न गलत मनसायका साथ असंवैधानिक तरिकाल ल्याइएको बताए ।
‘गलत मनसाय, कानुनलाई भाँजकुज पार्न र सरकार जोगाउन अध्यादेश ल्याइएको छ, यो अध्यादेश अविंलम्ब फिर्ता गरिनु पर्दछ ।’ अध्यक्ष ओलीले भने ‘तत्काल संसद अधिवेशन बोलाउनु पर्छ ।’
‘एमाले गैरकानुनी अनुचित र असंवैधानिक बाटोमा नजाने बताउँदै लोकतान्त्रिक र संवैधानिक बाटोबाट अनुचित कामलाई पराजित गर्न एमाले तयार रहेको पनि बताए । नेता माधव नेपालले पार्टी नेतृत्व गर्दा ठुलो पार्टीलाई कचौरा जस्तो पारेर राजिनामा दिएको बताउँदै अध्यक्ष ओलीले माधवको काम भनेकै एमाले समाप्त पार्ने भएको आरोप लगाए ।
अध्यक्ष ओलीले भने –“आफैले नेतृत्व गर्दा विशाल पार्टीलाई कचौरा जत्रोमा सिमित पार्नुभयो र अब त सकियो भनेर छोड्नुभयो । सरकारको नेतृत्व गर्दा पनि पार्टीको सहयोग र विपक्षीको सहयोग हुँदा पनि ९ महिनामै निकम्वा बनाउनुभयो र एमालेले सरकार चलाउन सक्दैन भने झै छोड्नुभयो । अहिले विपक्षीहरुसँग गठजोड गरेर एमाले समाप्त पार्ने कोशिस गरिरहनुभएको छ ।”
एमाले अझै पनि विभाजन नभएको बताउँदै अध्यक्ष ओलीले एमाले देशको प्रमुख ठुलो पार्टी भएको बताए । १०० सिट भन्दा माथि संघीय सरकारमा एमालेको मात्र रहेको वताउँदै उनले सातबटै प्रदेशमा अझै पनि एमाले एकातिर र अरु जम्मै एकातिर रहँदा पनि झण्डै झण्डै बराबरीको अवस्थामा रहेको बताए ।
माधव कै कारण एमालेले सबै ठाउँका सरकार गुमाउन परेको भन्दै पार्टीको वरिष्ठ नेता भन्दै आफ्नै पार्टी सिध्याउन लाग्ने झगडियाहरु अब आफ्नो पार्टीमा नरहेको ओलीले बताए ।
आफ्नै पार्टीका सरकार विरुद्ध फ्लोरक्रस गरेर सरकार ढाल्ने, शेरबहादुर देउवा जस्ता दक्षिणपन्थीको सरकार बनाउन आफुलाई एमालेको बरिष्ठ नेता हो भन्दै राष्ट्रपतिकोमा हस्ताक्षर लिएर जाने र अदालतमा पनि एमालेलाई एमालेको निर्णय विरुद्ध उभ्याएर गलत राजनीनि माधवले गरेको भन्दै ओलीले भने ‘माधव नेपालको प्रबृति पार्टी बर्बाद पार्ने अनी अध्यक्ष पनि चाहियो भन्ने खालको छ।’
सरकारकामा बसेर जति नै खुट्टा तानिए पनि आफ्नो नेतृत्वमा मुलुकमा धेरै विकासका कामहरु भएको अध्यक्ष ओलीले दावी गरेका छन् । बर्तमान सरकार काम विर्गान र भत्काउन बनेको भन्दै उनले सरकार बनेको डेढ महिनामा विपक्षीलाई धम्काउने, दमन गर्नै, षडयन्त्र गर्ने र गाली गर्नै बाहेक अहिलेको सरकारले कुनै काम नगरेको बताए । देउवा नेतत्वको सरकारको बाँकि दिनपनि यसरी नै सकिने उनले बताए ।