सभामुखलाई एमालेले भन्यो – माधव नेपालसहित १४ सांसदलाई किन कारवाही नभएको ?

काठमाडौं । नेकपा एमालेले माधव कुमार नेपालसहित उनी पक्षका १४ जना सांसदलाई कारबाही गर्न ढिलाई गरेकोमा सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ ।
आज सभामुख अग्नि प्रसाद सापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपाल पक्षका १४ जना सांसदहरुलाई तत्काल कारबाही गर्न ध्यानाकर्षण गराएको हो ।
एमालेले दल त्यागको सूचना दिएको ७२ घण्टा पुग्न लाग्दासम्म सभामुखले सूचना प्रकाशन नगरेपछि उनलाई भेटेर ध्यानाकर्षण गराएको एमाले संसदीय दलका प्रमुख सचेतक भट्टराईले बताएका छन् ।
सभामुखले माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन स्वीकृत होस् भनेर पर्खिएको हुनसक्ने भन्दै त्यसो गरेमा आफूहरुलाई मान्य नहुने भट्टराईले बताएका छन् ।
भेटमा सभामुख सापकोटाले उक्त विषय छिटो भन्दा छिटो टुङ्गोमा पुर्याउने आश्वासन दिएको भट्टराईले जानकारी दिएका छन् । यता एमालेले कारबाही गरेको निवेदन पठाएपछि माधव नेपाल पक्षका सांसदहरुले कारवाही नगर्न संसद सचिवालयमा निवेदन दिइसकेका छन् ।
एमालेलाई फुटाउने नियतले सभामुख सापकोटाले सूचना टाँस गर्न ढिलाई गरे त्यो आफूहरुलाई मान्य नहुने प्रमुख सचेतक भट्टराईले चेतावनी दिएका छन् ।