‘क्रियाशील सदस्यता विवरण चाडै सार्वजनिक’

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता चाडै सार्वजनिक हुने बताइएको छ । सभापति शेरबहादुर देउवाले रुजु गरेर निर्वाचन समितिलाई बुझाएलगत्तै क्रियाशील सदस्यता वेवसाइटमार्फत् सार्वजनिक गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षधर जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै धर्ना शुरु गरेपछि प्रवक्ता शर्माले जिल्ला सभापतिहरुलाई केही दिन प्रतीक्षा गर्न आग्रह गरेका छन् ।
‘सोमबार राति मात्रै पार्टीभित्रका फरक–फरक समूहका नेताहरुको सहभागिता रहेको समितिले सभापतिलाई प्रतिवेदन बुझाएको वताउँदै प्रवक्ता शर्माले सभापतिबाट निर्वाचन समितिलाई हस्तान्तरण भइसकेपछि निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक गर्ने बताएका छन् ।
निर्वाचन निर्देशिका निर्माण गरिरहेका नेताहरुलाई सभापति देउवाले निर्वाचन समितिले क्रियाशील सदस्यता विवरण पाएपछि सार्वजनिक गर्ने भनेर उल्लेख गर्न निर्देशन दिइसकेको बताइएको छ ।
क्रियाशील सदस्यता तत्काल सार्वजनिक गर्नुपर्ने, मापदण्ड अनुसार सदस्यता छानविन गरेर अन्तिम टुंगो लगाउनुपर्ने र सबै जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता हुने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेर पौडेल पक्षका जिल्ला सभापति पार्टी कार्यालयमा धर्नामा छन् ।