काबुल विस्फोटमा मृत्यु हुनेको संख्या १०३ पुग्यो, १ हजार ३३८ जना घाइते

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै हिजो भएका बम विस्फोटमा परी मृत्यु भएकाको संख्या १०३ पुगेको छ।
बम हमलामा ९० जना अफगानी नागरिक र १३ जना अमेरिकी सेनाको मृत्यु पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा १ हजार ३३८ जना घाइते भएका छन् ।
मृत्यु भएका ९० जना अफगानी मध्ये २८ जना तालिबानी छन्, जो विमानस्थलबाहिर तैनाथ थिए । मृतकको संख्या बढ्ने क्रम जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार बम हमलाको जिम्मेवारी आतंकवादी संगठन आईएसआईएसको खुरासन ग्रुपले लिएको छ।
यही अगस्ट १५ का दिन तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि असुरक्षा महसुस गरी ठूलो संख्यामा त्यहीँका तथा अन्य मुलुकका नागरिक त्यहाँबाट बाहिरिइरहेका छन् ।
यसैकारण काबुलको विमानस्थलमा दैनिक विमान चढ्नेहरूको भीड लागिरहेको छ। यही क्रममा बिहीबार साँझ विमानस्थलनजिकै दुई स्थानमा लगातार बम विस्फोट गराइएको हो ।