सभापतिका दावेदार निधिले खोले सम्पर्क कार्यालय

सभापति बनेपछि अर्को चुनावमा कांग्रेसलाई बहुमत दिलाउने दावी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आसन्न १४ औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौंको थापागाउँ स्थित वानेश्वर व्याङ्क्वेटमा सम्पर्क कार्यालय खोलेका छन् ।
शुक्रबार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता निधिले आफू कसैलाई हराउनका लागि सभापतिको उम्मेदवार बन्न नलागेको स्पष्टीकरण दिएका छन् ।
आफू सभापति हुने कुरा आगामी आम चुनावसँग जोडिएको वताउँदै नेता निधिले नेपाली कांग्रेसको रुख छापलाई बहुमत प्राप्त गराउनका लागि सबैलाई समेटेर अगाडि बढ्ने भूमिकाका लागि मैदानमा उत्रिएका बताएका छन् ।
नेता निधिले आफ्नो सम्पर्क कार्यालय उद्घाटनका क्रममा धार्मिक विधिको उपयोग गरेका छन् । निधिले नेपालका अधिकांश हिन्दु कार्यकर्ताहरूको ध्यान खिच्ने विधिको प्रयोग गरेका छन् । त्यसो त निधिले आशीर्वाद दिन आज बुद्ध धर्मका लामा र मुस्लिम धर्मका मौलाना पनि थापागाउँस्थित सम्पर्क कार्यालयमा बोलाएका थिए ।
उनले आजै बिहान नौ बजेको साइतमा सनातन हिन्दुधर्मानुसार पूजापाठ गर्दै कार्यालय शुभारम्भ गरेको हुन । निधिको कार्यालय खोल्ने क्रममा पण्डित नरेन्द्र झाले पूजापाठ गरेका थिए । उक्त पूजापाठका क्रममा आफूलाई आशीर्वाद दिन भन्दै निधिले जनकपुरस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहितलाई पनि बोलाएका थिए ।
निधिले आफूलाई आशिर्वाद दिन दक्षिणकाली मन्दिरका पुजारी, भक्तपुरको सूर्यविनायक मन्दिर र डोलेश्वर महादेव मन्दिरका पुजारी पनि बोलाएका थिए । त्यस्तै भक्तपुरको तेलकोटस्थित पञ्चम महालक्ष्मी मन्दिरबाट स्वामी कमल नयनाचार्यको प्रतिनिधिका रुपमा सुदर्शन आएर निधिलाई अशिर्वाद दिएका थिए भने पशुपतिनाथ मन्दिरबाट पनि भट्टको तर्फबाट भण्डारी आएका थिए । निधिलाई आशिर्वाद दिन पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारी, पूजामा राजयोग ज्योतिष सन्तोष जोशी पनि आएका थिए ।
त्यस्तै निधिले नेपालको सनातनमध्ये एक बुद्ध धर्मका लामा र मुस्लिम धर्मका मौलाना पनि बोलाएका थिए ।