गुल्मी युनाइटेडले स्थापना दिवसमा आशा अपांग केन्द्रलाई सहयोग
गुल्मी । गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेड तम्घास गुल्मीले स्थापना दिवस मनाएको छ । ‘भेदभावरहित आवद्धता, समुदायको उन्नति हाम्रो प्रतिवद्वता’ भन्ने मूल नाराका साथ स्थापना भएको यस सहकारीले शनिबार रेसुङ्गा नगरपालिका वडा नं.२ मा रहेको आशा अपाङ्ग केन्द्रलाई स्वास्थ्यसंग सम्बन्धित विभिन्न अति महत्वपूर्ण सामग्री हस्तान्तरण गरी आफ्नो १४ औं स्थापना दिवस मनाएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमण जोखिमलाई ध्यानमा राखी न्यून व्यक्तित्वहरुको सहभागितामा आशा अपाङ्ग केन्द्रमै पुगि उपाध्यक्ष गंगा रायमाझीलाई डिजिटल वेटिङ मेसिन १ थान, हिटिङ ब्याग २ थान, अल्ट्रासाउन्डका लागि प्रयोग हुने यू फाईब जि जेल ५ लिटर र माक्स सहकारीका अध्यक्ष गुणानिधी शर्माले हस्तान्तरण गर्नुभएको थियो ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अध्यक्ष शर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत आशा अपांग केन्द्रलाई स्वास्थ्यका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । अध्यक्ष शर्माले अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा आशा अपाङ्ग केन्द्रले पु¥र्याएको योगदान र भूमिका अग्रणी र अतुलनीय रहेको भन्दै केन्द्रलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
अध्यक्ष शर्माले सहकारीले विगत देखि नै सामाजिक उत्तरदायत्विका रुपमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको स्मरण गराउनुभयो । उहाँले सहकारी मुल्य मान्यता, मापदण्ड अनुसार सहकारीका सदस्यहरुको आर्थिक उन्नति र समुदायमा कल्याणकारी भूमिका समेत निर्वाह गर्दै आएको बताउनुभयो । यस अघि पनि सहकारीले बजार क्षेत्रमा सिसि क्यामरा जडान, रेसुङ्गा क्षेत्रको विकाका लागि आर्थिक सहयोग तथा जिल्ला अस्पताल लगायतका क्षेत्रहरुमा पनि विभिन्न सामाजिक तथा रचनात्मक सहयोग पुर्याउँदै आएको समेत बताउनुभयो ।
सोही अवसरमा सहकारी संस्थाका पूर्व अध्यक्षहरू श्यामकुमार पाण्डे, दुर्गाप्रसाद पाण्डे, राजकुमार श्रेष्ठ, लेखा समिति संयोजक ढुण्डीराज पोखरेलले आशा अपाङ्ग केन्द्रले अपाङ्गताको क्षेत्रमा खेलेको भूमिका प्रेरणाको स्रोतको रुपमा रहेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थासँग भावना र आस्था जोडिएको बताउनुभयो । आगामी दिनमा पनि सहकारीले आवश्यक सहयोग पुर्याउँदै जाने बताउनुभयो ।
आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष रायमाझीले संघसंस्थाहरुको सामाजिक सहयोगले नै केन्द्रलाई दिगो राख्नका लागि सहयोग पुर्याउने बताउँदै सहकारीलाई धन्यवाद ज्ञापन गर्नुभयो । रायमाझीले आशा अपाङ्ग केन्द्र, अपाङ्ग व्यक्तिहरुको मात्र नभएर सांङ्ग व्यक्तिहरुको पनि भएको बताउनुभयो । सामाजिक सेवा तथा सहयोग कार्यक्रमको सञ्चालन सहकारीका सचिव रामप्रसाद पन्थीले गर्नुभएको थियो ।
यस सहकारीको शेयरपँुजी ७ करोड ८७ लाख रहेको छ । यसको बचत रु २९ करोड भन्दा बढी रहेको छ । यस सहकारीको रु ३१ करोड ऋण लगानीमा रहेको संस्थाका कम्युटर सहायक सावित्रा पाण्डेले जानकारी दिनुभयो । यसको सम्पत्ति तथा दायित्व ४१ करोड रहेको छ । गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेड वि.स.२०६४ साल भदौ १२ गते सदरमुकाम तम्घासमा रहेका व्यापारी, बृद्धिजिवि, समाजसेवि, शिक्षक, महिला, लगायतको सक्रियतामा स्थापना भएको हो । यस सहकारीमा ११ सय भन्दा बढी शेयर सदस्य तथा नाबालक सदस्यहरु ३ सय भन्दा बढी गरी १४ सय भन्दा बढी सदस्यहरु आवद्ध रहनुभएको पाण्डेले जानकारी दिनुभयो ।