यातायात पूर्वाधारको समस्याले चीनसँगको व्यापारमा कमी भएको छ
– अशोक कुमार श्रेष्ठ, अध्यक्ष, नेपाल हिमालय सिमापार वाणिज्य संघ
सिन्धुपाल्चोकको तातोपानी जन्मेका अशोक श्रेष्ठ नेपाल हिमालय सिमापार वाणिज्य संघका बर्तमान अध्यक्ष हुन । संघमा सदस्य, सचिव, उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष हुँदै उनी अध्यक्ष निर्वाचित भएका हुन । व्यापार सँगसँगै उनी समाज सेवामा पनि संलग्न छन । भुकम्प गएको बेला होस वा सिन्धुपाल्चोकको मेलम्ची बजार बगाएको सवालमा होस संघको तर्फबाट राहात बितरणमा उनी सक्रिय भएर खटेका छन । भरखरै मात्र दोलखाको उत्तरी कालिन्चोकमा गएको पहिरो पीडितहरुलाई राहत बितरणको काम गरेका छन । त्यहाँको उद्योग बाणिज्य संघसँग समन्वय गरेर पुर्वमन्त्री एंवम नेपाली काँगे्रसका केन्द्रिय सदस्यसहित उनी त्यहाँ पुगेर पीडितहरुलाई राहत बितरण गरेका हुन । कोभिड महामारीले व्यवसायमा पारेको असर, संघका समस्या र आगामी दिनमा संघले खेल्ने भूमिकामा केन्द्रित रहेको अध्यक्ष श्रेष्ठसँग रेसुंगा टुडे साप्ताहिकका लागि रामहरी चौंलागाईले गरेको कुराकानीको मुख्य अंश :
तपाईंहरुका अहिलेका मुख्य समस्याहरु के–के हुन ?
मुख्य रुपमा व्यावसाय र व्यापारको लागि पूर्वाधार अर्थात सडक नै अहिले को मुख्य प्राथमिकताको बिषय हो । तातोपानी नाका भनौ वा रसुवा यी दुुवै नाकामा अहिले यातायात पूर्वाधार कै समस्या छ । सिन्धुपाल्चोकको तातोपानीको मितेरी पुलमा दुई महिनाभन्दा बढी समयबाट बाढी र वर्षात् कारण पुलको जग नै हल्लिएको छ । जसले गर्दा मानिसलाई सामान बोकाएर ल्याउनु परेको छ । कोदारीमा दिनुहँ बाटो भासिने गर्छ । त्यहाँ पनि सामान बोकाउनु पर्ने समस्या छ । जुरे पहिरो भन्दा माथी तातोपानीसम्म नै यस्ता समस्याहरु रहेका छन् । जसले गर्दा सामान ल्याउन हामीलाई निकै कठिनाई भईरहेको छ ।
रसुवा नाकाको अवस्था चाहीं कस्तो छ ?
त्यतापट्टी बाटोको खासै समस्या छैन । तर आवाश्यक मात्रामा त्यताबाट पनि सामान आउन सकिरहेको छैन । खासमा भन्नुपर्दा नेपाल तर्फ निरन्तर रुपमा चलिरहने सडक नै बन्न सकेन । सरकारको मुख्य ध्यान नै सडक पूर्वाधारमा जान सकेको देखिएन । रसुवा नाकामा उता चीनबाट सामान लिएर नेपालतर्फ आएका ट्रकहरु यता आएपछि पार्किङकै कारण रोकिनुपर्ने अवस्था छ । चिनियाँहरुको भनाई छ सडक र पार्किङको राम्रो व्यवस्था मिलाउ, हामी जति पनि सामान पठाउछौं भन्छन । उनीहरु भन्छन तिमीहरुको नेपालतर्फ गाडी राख्ने ठाउँ नै छैन भन्ने गुनासो उनीहरुले गर्ने गरेका छन ।
हाम्रो नेपालतर्फ सामान लिएर आएका गाडी राख्ने ठाउ“को समस्या छ हो ?
उताबाट एउटा गाडीले ल्याएको सामान नेपालका दुई वटा गाडीले बोक्नुपर्छ । त्यसको मतलब उताबाट १० वटा मालवाहक गाडीले बोकेर ल्याएको सामान हाम्रोमा आएपछि २० वटा गाडीमार्फत बोकाउनु पर्छ । भूगोलको वनावट पनि त्यस्तै छ । त्यसकारण पनि समस्या भएको छ । हिजो आज तातोपानी नाकाबाट ९० प्रतिशत फलफूल र १० प्रतिशत अरु सामान आईरहेको छ । यस्तै रसुवा नाकाबाट ९० प्रतिशत हाईड्रोका सामान र १० प्रतिशत लत्ता कपडा र अन्य सामानहरु आउने गरेको छ ।
ती नाकाहरुबाट दैनिक उपभोग्य वस्तु सामान कम आईरहेको गुनासो बाहिर आएको छ, वास्तविकता के हो ?
यहाँ पनि समस्या छन । मुख्य समस्या भनेको पाकिङ्ग नै हो । रसुवामा पनि सामान झार्ने ठाउँ अर्थात याडको समस्या छ । दैनिक ७–१० वटा चाइनिज गाडी सामान लिएर आउँछन् । उनीहरुले ल्याएको सामान पल्टी गरेर पठाउन हाम्रो दोब्बर गाडी चाहिन्छ । उसले ल्याएका सामान बढाउन नपाउँदै अर्को गाडी चाहिन्छ । उसले ल्याएको सामान उठाउन नपाउँदै अर्को गाडी आईसक्छ । सामान उठाउन ढिला भईरहेको हुन्छ । उनीहरुले तिमीहरुपट्टीको सडक बनाउन भनिरहेका छन । तिमीहरु सक्दैनौ भने हामी बढाई दिन्छौ पनि भनेका छन । तर वास्तविकता नवुझिकन हामी यसो वा त्यसो गर भन्ने पक्षमा रहेको छैनौ । बास्तवममा कुरै नबुझी बोल्नु पनि भएन । दुई मुलुक वीचको सम्बन्ध पनि यसमा जोडिएको हुन्छ र छ । सहज हुदा सयौ गाडी दैनिकरुपमा उनीहरुले छोडेका थिए । सहज वातावरण र याड बनेको खण्डमा सामान आउन सक्छ ।
अहिले चीनबाट कति दिनमा नेपालमा सामान आईपुग्छ ?
२० देखी २५ दिन लाग्छ । चीनको जुनसुकै स्थानबाट सामान लिएर आएपनि त्यति दिन भित्र नेपालमा गाडी आईपुग्छन् । यसको अलवा सिपबाट पनि सामान आईरहेको हुन्छ ।
याड सानो भएको गुनासोको बारेमा भन्सार प्रशासन र नेपाल सरकारलाई जानकारी गराउनु भएको छैन ?
हामीले सरकारलाई जानकारी गराएका छौं । यस्मा मुख्य भुगोल कै कारण समस्या आएको हो, गछौं भनेर गरिहाल्ने अवस्था पनि छैन । वर्षायाम छ, काम गर्न भने अलि गाह«ै हुन्छ ।
सिपमार्फत आएको सामान कति दिन भित्र नेपाल आईपुग्छ ?
डेड देखी दुई महिना लाग्छ । यो खर्चिलो पनि छ । हामीलाई सामान गाडीमार्फत ल्याउँदा नै किफायती पर्न जान्छ ।
विश्व महामारिका कारण अहिले अवस्था असहज छ, तपाईंहरुलाई चाहि“ यसले के कस्तो असर पारेको छ ?
हामी भन्दा चाइनिजहरु बढी सेन्सेटिभ हुन्छन । बरु हामीले कोभिडलाई ख्याल मानेका छौं । उनीहरु पहिला स्वास्थ्य, त्यसपछि अरु कुरा भनिरहेका छन् । यसले गर्दा पनि हामीले सोचे जसरी सामान आउन सकिरहेको छैन । उनीहरुले कोभिड महामारीलाई एकदमै गम्भीर रुपमा लिएका छन । यहीं भएर सामान उत्पादनमा नै कमी आएर आयत पनि घटेको हो भन्ने मलाई लाग्छ ।
अवस्था यहि रहेको खण्डमा नेपालीहरुले चाडवाडलाई पनि प्रत्यक्ष असर पर्ने देखियो नि, होइन त ?
खासै असर पारे जस्तो मलाई लाग्दैन । वर्षा रोकिएन र सडक बनेन भने बोकाएर ल्याउनुपर्दा थोरै मूल्य त बढने नै भयो । साथसाथै बर्षात रोकियो भने त्यस्तो पनि नहोला । लत्ताकपडा, विजुलीका सामान अहिले पारिबाट आईरहेकै छन् । स्वीटर, ज्याकेटलगायत चाडपर्वलाई मध्यनजर गरेर सिप वा गाडीमार्फत ल्याइसकेका छन । गतवर्ष पुल भत्केको, बाटो भत्केकोले धेरै समस्याहरु आए । यो कुरालाई व्यापारीहरुले बुझेर यसपाली समयमा ल्याइसकेका छन । त्यसकारण पनि मुल्य बढला भनेर हामी चिन्तित हुनुपर्ने अवस्था छैन ।
त्यसो भए व्यापारीहरु निराश होइनन, उत्साही छन, हो ?
के को उत्साही हुनु ? व्यापार गरर्यो पैसा अर्काको हातमा हुन्छ । बैंकबाट ऋण लिएर व्यापार गरिएको हुन्छ । कोभिड महामारीको कारण व्यापारीहरुको मात्र होइन, मुलुककै अर्थतन्त्र धारासायी भएको छ । कहिले बजार खुल्ने र कहिले बन्द हुने कुनै ठेगान छैन । बैंकको सावाँ व्याज लागिरहेको हुन्छ । ढिलोचाँडो नतिरिकन सुख नै छैन । गोदाम भाडा, पसल भाडा, कर्मचारीको तलव, सरकारलाई कर नतिरी भएन । यस्ता तमाम समस्याका कारण कतिपय व्यापारीहरु पेशावाट नै पलायन हुन पुगेका छन । यसकारण पनि सरकारले हाम्रा समस्यालाई मध्यनजर गरेर केही कुरामा सहुलियत दिएको राहात मिल्ने थियो ।
यस बारेमा तपार्ईहरुको तर्फबाट सरकारलाई कुनै जानकारी गराउनु भएको छैन ?
हामी खासै त्यति गंभीर भएर लागेका छैनौ । केही समय अगाडि सिन्धु उद्योग बाण्ज्यि संघ र हामी मिलेर नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा प्रधामन्त्री शेरबहादुर देउवालाई भेटन गएका थियौं । हामीले हाम्रा समस्याका बारेमा ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीलाई जानकारी गराएका छौं । तातोपानी नाका र रसुवा नाकाम देखिएको सडक समस्याका बारेमा लेखेर दिएका छौं ।
नेपाल राष्ट्र बैंकले भरखरै जारी गरेको मौद्रिक नीतिमा सहुलियत कर्जा दिने भनेको छ नि ?
हो, मौद्रिक नीति सार्वजनिक भएको छ । यसमा तपार्ईले भनेको कुरा समेटिएको भनिएको छ । मौद्रिक नीतिमा उल्लेखित यी बिषय कार्यान्वयन हुन सके राम्रो हो । कोभिड महामारीका कारण हामीलाई मात्र होइन, मुलुकमा नै यावत समस्या आएका छन । सरकारले कमसे कम बैंकको व्याजमा मात्र सहुलियत र करमा छुट दिने हो व्यवसाय बचाउन सकिन्छ ।