गुल्मी कांग्रेस १४ औं महाधिवेशनमा होमियो, सभापतिमा ७ जना आकांक्षी

गुल्मी कांग्रेस १४ औं महाधिवेशनमा केन्द्रित भएको छ । भदौ २२ गते देखि जिल्लामा वडातह देखि महाधिवेशनको तयारी थालेको कांग्रेस नेता तथा कार्यकर्ताहरु महाधिवेशनमा होमिएका हुन् । यो महाधिवेशनमा नेपाली कांग्रेस गुल्मीको सभापतिका लागि ७ जना आकांक्षी देखिएका छन् । वर्तमान सभापति भुवनप्रसाद श्रेष्ठ, उपसभापति बिष्णुप्रसाद बलाल, सचिव खिलध्वज पन्थी, अघिल्लो महाधिवेशनमा सभापतिका उमेदवार रहेका शालिक पन्थी, श्रीप्रसाद भलामी, वेद थापा मगर र महेन्द्र भण्डारी सहित ७ जना आकांक्षी देखिएका हुन् ।

आज महाधिवेशन तयारीका लागि नेपाली कांग्रेसको पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा बैठक बसेको छ । बैठकमा केन्द्रीय सदस्य चन्द्र भण्डारी सहितका नेताहरु सहभागी थिए । यसपालीको महाधिवेशनलाई एकता, सद्भाव र मेलमिलापको अधिवेशन गराउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले बताउनु भयो ।
सभापति श्रेष्ठले भदौं २२ गतेबाट जिल्लामा अधिवेशन प्रारम्भ गर्ने बताउँदै २७ गते पालिका स्तरिय, असोज १ गते प्रदेश स्तरिय, असोज ५ गते क्षेत्रिय र १० गते जिल्लाको अधिवेशन गरेर समापन गर्ने पुर्व तयारी गरेको जानकारी दिनु भयो । जिल्लाका ९३ वटै वडा कार्य समितिको बैठक बसिरहेको, केन्द्रबाट निर्वाचन अधिकृत सतिश झा सबै डकुमेण्ड लिएर आई सकेको उल्लेख गर्दै ९३ वटै वडाका मतदान अधिकृतहरुको समेत छनौट गरि उनीहरुलाई आज र भोली प्रशिक्षित गरि आ–आफ्नो कार्य क्षेत्र पठाउने उहाँको भनाई छ ।
यसै बिच सभापति श्रेष्ठले गुल्मी कांग्रेमा ५९ प्रतिशत कृयाशिल सदस्यता थप भएको दावी गर्दै भन्नु भयो, ‘यस अघि ८ हजार ७ सय क्रियाशिल सदस्य थिए, यो महाधिवेशनमा आई पुग्दा झण्डै १४ हजार क्रियाशिल सदस्य पुगेका छन् । तपाई आफु यसपाली सभापतिमा दोहरिने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उहाँले सबै संग बसेर साझा धारणा बनाएर मात्रै आफुले धारण बाहिर ल्याउने बताउनुभयो ।
उता उपसभापति बिष्णु प्रसाद बलालले यसपाली आफु सभापति पदमा दावी गर्नु आफ्नो अधिकारी भएको जिकिर गर्नु भयो । उहाँले भन्नु भयो –‘ऐतिहासिक पुष्ठभुमि र राजनीतिमा जुन लगानी गरेका छौं, नेवि संघ, तरुण दल हुँदै अघिल्लो कार्यकालमा सचिवमा निर्वाचित भई अहिले उपसभापति भएकाले पनि यसपटक सभापतिमा दावी गर्नु निश्चित रुपमै मेरो अधिकार हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले केन्द्रमा अबको नेतृत्व युवा पुस्ताले गर्नु पर्ने धारणा राख्नु भयो । भण्डारीले ८०÷८१ बर्ष उमेर पुगेका नेताहरुले उमेदवारी दावी गर्नु भनेको अबको ५ बर्षम ८५÷८६ बर्षमा पुग्नु रहेको उल्लेख गर्दै त्यसरी नेपाली कांग्रेसको प्रतिस्पर्धामा जाने राजनीतिमा कति असर गर्छ भन्ने कुरा बुझेर युवालाई छोडि दिनु पर्छ भन्ने आफ्नो धारणा रहेको बताउनुभयो ।
गुल्मीमा नेताहरुले एकता र मेलमिलापको रटान गरे पनि भित्र भित्रै गुट–उपगुट बीचको रस्साकस्सी भने कार्यमै रहेको ‘दैले जमघट’ले देखाउँछ । यसपाली फरक पनि हुन सक्ला तर दाईवादको राजनीति अन्त्य हुनु पर्नेमा युवा पुस्ताले जोड दिएका छन् । विधान अनुसार २०७६ फागुनमै हुनुपर्ने काँग्रेसको महाधिवेशन पाँच वर्ष ६ महिनामा सुरु हुन लागेको हो । काँग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने छ ।