अर्थ ताक्ने कर्मचारीहरु हिस्स !

काठमाडौं । नेकपा माओवादी निकट बिभिन्न मन्त्रालयमा कार्यरत ओहोदाधारी कर्मचारीहरु यतिखेर निराश छन् । अर्थ मन्त्रालय अन्तर्गतका बिभिन्न आकर्षक र मालदार अड्डामा सरुवा भएर जाने योजना र सपना उनीहरुले पालेका थिए । तिनीहरुको यी सपना तत्कालै पूरा नहुने भएपछि कर्मचारीहरु यतिखेर ‘हिस्स बुढी हरिया दाँत’ झै बन्न पुगेका छन् ।
०७८ असार २८ गते सर्वोच्च अदालतको परमादेशबाट नेकपा एमाले नेतृत्वको सरकार बिस्थापित भएर नेपाली काँग्र्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा ४ दलीय गठबन्धन सरकार गठन भएको थियो । नयाँ सरकार गठन भएसँगै अर्थ जस्तो आकर्षक र मुलुक संचालनको लागि आवश्यक रकम ढुकुटीबाट रकम खर्च गर्नको लागि चावी मानिने मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ ।
माओवादी नेता जनार्दन शर्माले अर्थमन्त्रालय सम्हालेपछि उत्साहित भएका माओवादी निकट कर्मचारी र बिश्वास पात्र ठानिएका सह–सचिव आकर्षक र मालदार अड्डामा जाने सुरसार कसेका थिए । तर उनीहरुको सपना केवल सपनामा नै सीमित बन्न पुगेको छ ।
उप–राष्ट्रपति कार्यालयका सचिव रामकृष्ण सुवेदी, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव बलराम रिज्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौला, सुदुरपश्चिम प्रदेश अर्थ मन्त्रालयका सचिव झलकराम अधिकारी, अर्थ सचिव मधु मरासिनीका भाई शम्भु मरासिनी र स्थानीय मन्त्रालयका केदारनाथ शर्माले अर्थ मन्त्रालय मातहतका आकर्षक निकाय र बिभागहरुमा जाने सोच पालेका थिए ।
तर अर्थमन्त्री शर्माले नचाहँदानचाहँदै पनि मन्त्रालयको आकर्षक मानिने बजेट महाशाखा र कमाउ बिभागहरु यतिखेर काँगे्रस निकट कर्मचारीहरुले भरिन थालेका छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवाको इच्छा बमोजिम नै त्यस्तो भएको बताइन्छ ।
बर्तमान देउवा सरकारको सत्ता सहयात्री बनेका माधव नेपाल र उपेन्द्र यादव आन्तरिक घर झगडामा अल्झिएको समयमा प्रधानमन्त्री देउवा र पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो दलबाट दुई–दुई जना मन्त्री बनाए । दुई नेताबीचको सहमतिअनुसार अर्थ, सिंचाई, जलस्रोत तथा उर्जा मन्त्रालय माओवादीको भागमा परेको छ भने गृह र कानुन मन्त्रालयमा क्रमशः बालकृष्ण खाण र ज्ञानेन्द्र बहादुर कार्की मन्त्री बनिसकेका छन् ।
माओवादी केन्द्रले यी मन्त्रालय हात पारेसंगै जितको प्रत्याभूतिपछि प्रचण्डले नेपाल बिद्युत प्राधिकरणमा कार्यरत हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमान घिसिङलाई ल्याउन पाएको गर्भानुभुती गरिरहेका छन् । त्यसको फाइदा उठाउँदै प्रधानमन्त्री देउवा माओवादीले सम्हालेको अर्थमन्त्रालयमा हावी भएको बताइन्छ ।
अर्थ वा गृह मन्त्रालय जहाँ भएपनि सचिव बन्ने दाउ उपराष्ट्रपति कार्यलयमा कार्यरत सुवेदीको थियो । त्यसका लागि उनले माओवादी नेता प्रचण्डसँग यो मनसाय व्यक्त गरेका पनि थिए । टेकनारायण पाण्डेले गृह सचिवमा बाजी मारेपछि अर्थमा उनको जोड थियो । अर्थमा पनि उनी भन्दा जुनियरहरु सचिव बनेपछि उनी निराश भएको बताइन्छ ।
अझ रोचक कुरा के छ भने अर्थ मन्त्रालय मातहतको कुनै पनि कार्यालय र बिभागमा कामै नगरेका र एकपटक बाणिज्य दुत भएकै भरमा कृष्णहरी पुस्करले राजश्व सचिव पडकाएपछि माओवादी निकट सचिव र सह–सचिवहरु तिनछक परेका छन् । मन्त्रालयको बजेट महाशाखा जस्तो शक्तिशाली निकायमा भुपाल बरालहरु पुगिसकेका छन् । आफुलाई माओवादी निकट भनेर चिनाएका सुवेदीले गृह नपाएपछि अर्थ सचिव बन्ने इच्छा देखाएका थिए ।
अर्थबाट शिशिर ढुगांना प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि सुवेदीले अर्थमा आँखा लगाएको बताइएको थियो । तर उनको प्रयास सफल हुन सकेन । आफुलाई प्रचण्ड निकट भनेर खुल्लारुपमा बताउने सुवेदीहरु अझै निराश भने भइसकेका छैनन् । गृह मन्त्रालयमा रहँदा प्रवक्ता र शान्ति सुरक्षा महाशाखाको हेरेका सुवेदीले गृह सचिवमा आँखा लगाउनु अस्वभाबिक पनि थिएन । उनी अझै पनि आशावादी र निराश भइनसकेको उनी निकटस्रोत बताउँछ ।
उता आन्तरिक राजश्व, उद्योग र ठुला करदाता कार्यालयमा काम गरिसकेका बलराम रिज्याल यतिबेला उद्योग मन्त्रालयमा छन् । माओवादी भनेर चिनिएका उनले कुनै अवसर लिन सकेनन् । आन्तरिक राजश्व बिभाग, ठुला कारदाता कार्यालयमा काम गरिसकेका झलकरामहरुले पनि अर्थ मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि मुख मिठ्याएका थिए ।
अझ जनार्दन शर्माले अर्थको बागडोर संहालेपछि अर्थ मन्त्रालयको आफु निकट कर्मचारी संगठनलाई कुनै सोधखोज नगरेको समाचारस्रोत बताउँछ । आन्तरिक राजश्व बिभागको नेतृत्व शोभाकान्त पौडेल र भंसार बिभागका नेतृत्व नारायणप्रसाद सापकोटाले पाइससकेका छन् ।