कांग्रेसकी कान्छी सभापति

काठमाडौं । दैलेखमा १९ वर्षीया किशोरी सत्तारुढ नेपाली कांग्रेसले वडा समिति सभापतिमा निर्वाचित भएकी छिन् । दैलेखस्थित कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरीसमेत रहेकी स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर ३ मा सभापति निर्वाचित भएकी हुन् ।
शुक्रबार भएको वडा अधिवेशनका क्रममा कांग्रेसले उनलाई सर्वसम्मत रुपमा वडा सभापति बनाएको हो । उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि साथ दिएका थिए ।
सानै उमेरमा कांग्रेसको स्थानीय नेतृत्व सम्हालेपछि उनलाई आफन्त, इष्ट मित्र र कांग्रेसजनले बधाई दिइरहेका छन् ।
स्वस्तिकाका पिता एवम् कांग्रेस दैलेखका तत्कालीन उपसभापति भुपेन्द्रजंग महतको २०७६ कात्तिकमा डेंगु संक्रमणका कारण निधन भएको थियो ।
भारतको मुम्बई भ्रमणका क्रममा बिरामी परेपछि उनी उपचारका दिल्लीस्थित एपोलो अस्पताल पुगेका थिए । त्यही उनको निधन भएको थियो ।
स्वस्तिका पनि बुवाकै पदचाप पछ्याउँदै कांग्रेसको राजनीति लागेकी छन् । उनलाई सानै उमेरमा कांग्रेसले गाउँको कमाण्ड सुम्पिएपछि अन्य दलका नेताले समेत प्रशंसा गरेका छन् ।
राजनीतिमा बुवाको खटाई र मिहिनेत स्वस्तिकाले नजिकबाट नियालेकी थिइन् । घरको माहौल पनि राजनीतिक थियो । धेरै किसिमका मानिसहरु आएर राजनीतिक कुरा गर्थे । राजनीतिसँगै गाउँ विकासका पनि कुरा हुन्थे । ती सबै कुराहरु स्वस्तिकाले पनि चाख दिएर सुन्थिन् ।
स्वस्तिकालाई एक वर्ष अगाडि मात्रै राजनीतिमा लाग्ने सोच आएको थियो । ठीक त्यहीबेला कांग्रेसको १४ औं महाधिवेशन चलिरहेको थियो । स्वस्तिकाले राजनीतिमा आउने यही महाधिवेशन उपयुक्त हुने ठानिन् । र परिवारसँगै कांग्रेसजनमा आफ्नो इच्छा व्यक्त गरिन् ।
‘पहिले त स्वीकार गर्ने कुरै भएन । बच्चै छस्, पढाई छ, पढाई किन छोड्नुपर्यो । जागिर खानुपर्छ तैँले भन्नुहुन्थ्यो,’ स्वस्तिकाले भनिन्, ‘मैले सक्छु भनेर हिम्मत देखाएँ । १८ वर्ष पुगेपछि कानुनले नै सक्छस्, सक्षम छस् भनेर नागरिकता दिन्छ । म १९ वर्ष पुगिसकेकी छु भनेर कन्भिन्स गराएपछि सबै जना खुशी हुनुभयो । मलाई अगाडि बढ्न हौसाउँदै साथ दिने प्रतिवद्धता जनाउनुभयो ।’
सक्रिय राजनीति थालेको वर्ष भन्दा कम समयमै स्वस्तिका दुल्लु नगरपालिका वडा नम्बर ३ को सभापतिमा शुक्रबार निर्विरोध निर्वाचित भएकी हुन् । सभापतिमा निर्वाचित भएपछि बुवाका अधुरा सपनाहरु पूरा गर्ने लक्ष्य रहेको स्वस्तिकाले बताएकी छिन् ।
राजनीतिमा कहाँसम्म पुगिन्छ, स्वस्तिकाले त्यसको आँकलन गरेकी छैनन । तर उनी आफूलाई जतिसक्दो परिपक्व बनाउँदै लगिरहेकी छिन् । कांग्रेसको इतिहास, विधि विधान, कानुन, सरकारी संयन्त्र आदिबारे अध्ययन गरिरहेको उनले बताइन् ।