चार केजी अवैध सुन नेपलागञ्ज पुग्यो
त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थामाथि प्रश्न
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालगञ्ज पुर्याइएको चार केजी बढी अवैध सुन नेपालगञ्जमा वरामद भएको छ । विमानस्थलबाट सुन नेपालगञ्ज पुर्याएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थामाथि फेरि प्रश्न उठेको छ । अवैध सुन तस्करीका थुप्रै घटनामा प्रश्न चिन्ह
खडा हुने विमानस्थलको सुरक्षा व्यवस्थामाथि यस पटकको सुनकाण्डले पनि प्रश्न उब्जाएको हो ।
कडा चेकजाँच हुने विमानस्थलबाट सहजै सुन नेपालगन्ज पुग्नुले कतै सुरक्षाकर्मीकै मिलेमतो हो की भन्ने पनि आशंका उब्जिएको छ । त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले विमानस्थल भएर नेपालगञ्ज सुन पुगेको घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
शुक्रबार दिउँसो नेपालगञ्ज विमानस्थलबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ परेका थिए । काठमाडौंबाट श्री एयरलाइन्सको जहाजबाट नेपालगन्ज पुगेका झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ बुद्धिमान खातीलाई बाँके प्रहरीले सुनसहित पक्राउ गरेको हो । उनीहरुले जुत्ताको तलुवामा राखेर सुन त्यहाँ पु¥याएको प्रहरीले जनाएको छ ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेकाहरु सुन बोक्ने भरिया मात्र हुन । उक्त सुन नेपालगञ्जका तीन जना व्यापारीको नाममा बिल काटिएको बताइएको छ । बिल पनि शंकास्पद रहेको बताइएको छ । प्रहरीले व्यापारीको नाम भने खुलाएको छैन । पक्राउ परेकाहरुलाई राजश्व अनुसन्धान कार्यालयमा बुझाउँने र आवश्यक अनुसन्धान र कारवाही राजश्व अनुसन्धानले नै गर्ने प्रहरीले जनाएको छ ।
श्री एयरलाइन्सको जहाजमा दुई जनाले सुन ल्याएर नेपालगञ्ज आउँदैछन् भन्ने सूचना प्रहरीलाई जहाज अवतरण हुनुभन्दा पाँच मिनेट अघिमात्रै पाएको प्रहरीले जनाएको छ ।