तीन जना डीजीजी नहुँदा बिभाग जनशक्तिबिहीन
महानिर्देशक रायमाथि अख्तियारको निगरानी !
काठमाडौं । दुई वर्ष अगाडि खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका उप–महानर्देशक संजीव कर्ण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेपछि निलम्वन परे । त्यस्तै राकेश कुमार त्रिपाठी उमेरहदका कारण बिभागबाट स्वतः अवकाश भए । रिक्त भएको सो पदमा पनि कसैलाई आजका दिनसम्म कसैलाई सरुवा गरेको ल्याइएको छैन । बिभागमा कार्यरत अर्की डीजीजी मतिना जोशी बैद्य बागमती प्रदेशको कृषि सचिवमा सरुवा भएर गएको १ वर्ष बितिसकेको छ । सो पदमा पनि आजका दिनसम्म कसैलाई सरुवा गरेर ल्याउन मन्त्रालयले इच्छा देखाएको पाइदैन ।
यही कारण बिभागका दुई र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले उपलव्ध गराएको दुईवटा घुम्ती प्रयोगशाला भ्यान प्रयोगबिहीन भएर त्यसै थन्किन पुगेका छन् । बिभाग परिसरमा लामो समयदेखि प्रयोगबिहीन भएर थन्किदा भ्यान मर्मत गर्नका लागि मात्र लाखौं रुपैयाँ खर्च हुने भएको छ । ती सवारी साधन कहिले प्रयोगमा आउने हो त्यसको पनि अत्तापत्तो छैन । यसतर्फ समयमा ध्यान नपुर्याउने हो भने ती भ्यान सदाका लागि काम नलाग्ने गरी बिग्रने अवस्थामा पुग्ने अनुमान गरिदैछ ।
कर्णमाथि लागेको अभियोग र अदालतमा दायर भएको मुद्दा समयमा टुङ्गो नलाग्दा बिभागको हालत दिन प्रतिदिन दयनिय र भयावह बन्दै गइरहेको बताइन्छ । हाल बिभागमा तीनजना डीडीजीको दरबन्दी रहेको भएपनि तिनै पद रिक्त छन् ।
उप–महानिर्देशक कर्णलाई फिल्डमा घुम्ती प्रयोगशालासहित कैफियत गरेको आरोपमा अख्तियारले रंङ्गेहात प्रक्राउ गर्यो । जसका कारण उनी निलम्वनमा छन । उनी निलम्वनमा परेको र मुद्दा छिनोफानो भइनसकेको कारण सो पद लामो समयदेखि खाली छ । हाल बिभागमा कार्यरत महानिर्देशक उपेन्द्र रायको कार्यकाल पनि सकिन लागेको छ । आगामी कात्तिकको पहिलो हप्ता उनले उमेर हदका कारण अनिवार्य अवकाश लिदैछन् ।
यो बिचमा कृषि तथा पशुपन्छी मन्त्रालयले यी पदमा कसैलाई ल्याउन किन चाहेन वा सकेन भन्ने प्रश्न पनि नउठेको होइन । साउनको पहिलो हप्ता तत्कालीन कृषि सचिव योगेन्द्र कुमार कार्कीले उमेरहदका कारण अनिवार्य अवकाश पाए । सचिव कार्कीले ती पदमा कोही कर्मचारीलाई सरुवा गरेर ल्याउन पहलकदमी किन गरेनन् भनेर बिभागले प्रश्न तर्सायो तर सुनुवाई भने भएन । उनले कसको दवाव वा प्रभावमा परेर त्यो काम गरेनन भन्ने कुराले बिभागलाई आश्चर्यमा पारेको छ ।
हाल कृषि सचिवको जिम्मेवारीमा डा. कृष्णप्रसाद आचार्य रहेका छन् । उनी बिभागको कामबाट थोरै पनि खुशी छैनन् । बिभागको भूमिकाको बिषयमा थुप्रै टिका–टिप्पणीहरु मन्त्रालयमा आइरहेका छन् । तर उनले तत्कालै बिभागमा सुधार ल्याउनका लागि केही कदम चाल्न खोजेपनि सकिरहेका छैनन । कारण उनको कार्यकाल पनि छोटो छ । तीन महिना पनि कार्यकाल नरहेकोले उनले चाहेर पनि बिभागमा चमत्कारी परिवर्तन गर्न सक्ने अवस्था नरहेको त्यहाँका इमानदार कर्मचारीहरु बताउँछन् ।
महानिर्देशक राय बिभागलाई काम गरेर परिवर्तन गर्ने भन्दा पनि कमाएर घर फर्किने पक्षमा उभिएका छन् । मौका यही हो भनेर जतिसक्दो बिभागबाट दाम हात लगाउने पक्षमा मात्र रहेको बताईन्छ । जसका कारण कृषि मन्त्रालयमा नयाँ मन्त्री बनेर आउनेलाई त्यति सजिलो छैन । समस्याको चाङले भरिएको मन्त्रालयलाई परिवर्तन गरेर देखाउनका लागि मन्त्रीलाई चुनौतीको पहाड रहेको कर्मचारीस्रोत बताउँछ ।
बिभागले गत वर्ष बजारबाट दुध, दही घ्यू र मख्खनको नमुना संकलन गरी परीक्षण गरेपनि त्यसको देखिने गरी परिणाम बाहिर ल्याएन । त्यही आरोपमा अख्तियारले गत बिहीवार छापा मारेको छ । सरकारी स्वामित्वमा रहेको दुग्ध बिकास संस्थानलाई मात्र म्याद नाघेको बटर स्टोर गरेको नाममा कारवाही चलाएको तर निजी डेरीहरुलाई उन्मुक्ति दिएको आरोप बिभाग र बिभागका महानिर्देशक रायमाथि लाग्दै आएको थियो ।
सिताराम, राजधानी, संयुक्त डेरीलगायत एक दर्जन भन्दा बढीको नमुना संकलन गरेको थियो । परीक्षणपश्चात के कस्तो रिर्पोट निस्कियो त्यसमा भेटिएको कैफियत बारेमा बिभागले आजसम्म सर्वसाधारण त के सम्वन्धित निकायमा समेत जानकारी दिन हिम्मत देखाएकोे छैन ।