फुटेको ऐना (कथा)
चौध/पन्ध्र वर्षको उमेर सबैको उस्तै हुँदो हो या मेरो अलि चञ्चले स्वभाव , मलाई धेरै नै नक्कल–झक्कल पार्नुपर्ने । कहीँ जानुपर्यो भने धेरैबेर लगाएर कोरीबाटी राम्री हुनुपर्ने । खुब ऐना हेर्दथेँ । दिनमै सयपटक जति ऐना नै हेर्थेहुँला । हजुरआमा गाली गर्नुहुन्थ्यो कति ऐना हेरेकी कति चैँ नक्कल पार्नुपर्ने । तर, म आफ्नो सुर किन छोड्थेँ र उहाँ गाली गरिरहनुहुन्थ्यो म सुनेको नसुने गरिदिन्थेँ । ‘सानैदेखि फरक स्वभावकी थिएँ अरे’ हजुरआमा कुरा गर्नुहुन्थ्यो– ‘के कुरामा चित्त बुझ्दैन थियो केही गरी फकाउन नसकिने ऐना दिएपछि आफैँलाई हेरेर मक्ख पर्थी अनि मात्रै फुल्लिन्थी’, अझै थप्नु हुन्थ्यो– ‘पुराना लुगा लगाउनै मान्दिनथी रूँदै ऐना हेर्न पुग्थी ।’
मलाई थाहा छ त्यतिबेला म बुझ्ने नै भइसकेकी थिएँ– ‘आमाले नुहाएर फेरी उही लुगा लगाइदिनु होला भनेर कुटोले खोस्रेिएर मलको थुप्रोमा गाडेको ।’ ठुलो हुँदासम्म पनि उही स्वभाव सम्भव भएसम्म नयाँ नै लगाउँ जस्तो लाग्ने । बढी माया पाएर होला अलि पुल्पुलिएकी थिएँ । आमाले मिठासे भनेर बोलाउनु हुन्थ्यो । भन्नुहुन्थ्यो– ‘मीठो–मीठो खानुपर्ने, अल्छे तिघ्रो स्वादे जिब्रो’ आखिर घुर्क्याउने आमालाई नै त हो नमीठो भए भागै बस्दिन थिएँ । आमाको मन गाली गर्दै भए पनि माग पूरा गरिदिनुहुँन्थ्यो । आमा र हजुरआमा चिन्तित हुनुहुन्थ्यो म अल्छि स्वभावकी थिएँ; एउटा काम दस पटक जति अर्राए पछि बल्ल गर्ने मेरो बानी, भन्नुहुन्थ्यो – ‘ऐना हेरेर र नक्कल पारेर घर गरी खाइन्छ ?’, ’यसले घरगरी खान्न सासु नभएको घरमा दिनुपर्छ’, म रिसाउँदै जुरुक्क उठेर हिँडिदिन्थेँ । हो, मेरो बानी पनि अजिब कै थियो सुत्ने बेलामा पनि ऐना हेरेर कपाल कोरी सुत्ने । हजुरआमा भन्ने गर्नुहुन्थ्यो – ‘रातमा ऐना हेरे बुढो पोई पाइन्छ’, मलाइ हाँसो लाग्थ्यो हजुरआमाका कुराले । हुन पनि मसँग दुईवटा ऐना थिए । एउटा ठूलो ऐना कोठाको भित्तामा राखेकी थिएँ सुत्नेबेलामा हेर्न । अनि अर्को बाहिर बरण्डामा ।
एक दिनको कुरा हो म साथी कहाँ जान लागेकी थिएँ हजुरआमा के काम अर्राउन हो भित्रबाट बोलाइरहनुभएको थियो । म नसुनेझैँ नबोली कपाल कोरिरहेकी थिएँ उहाँ गाली गर्दै भित्रबाट आउनुभयो । हतारमा राख्ने हुँदा मेरो हातबाट झरेर ऐना फुट्यो । हजुरआमा खुब भूतभुताइरहनुभयो । हातबाट ऐना झरेर फुटे भाग्य फुट्छ । मलाई उहाँको कुराले भन्दा पनि आफ्नो ऐना फुटेकोमा दुःखी तुल्यायो । हजुरआमा भुतभुताउँदै बढारकुढार गर्न थाल्नुभयो । म साथीका तिर लागेँ । साँझपख घर फर्किए घर आउँदा बरण्डामा नौला मान्छे बसिरहेका थिए, म वास्तै नगरी कोठा भित्र गएँ । आमाले बाहिर बोलाउनुभयो; एकैछिन बसेँ, पछि बुझ्दा थाहा भयो– मलाई हेर्न आएका रहेछन् बिहेको लागि । बुढो, बाबाको उमेरको, मैले सोझै इन्कार गरिदिएँ, आमा फत्फताइरहनुभयो – ‘राम्रो कुल घरानाको केटो, युके को लाहुरे ।’ आमा हजुरआमा भन्दै हुनुहुन्थ्यो– ’यत्तिको केटो उमेर धेरै भएर के हुन्छ त राम्रोसँग पाल्छ तँ अल्छिलाई’, म मुख फर्काइरहेँ राम्रो भए आफैँ बिहे गर्नुहोस् म त मरे पनि गर्दिन फन्किँदै सुत्न हिँडेँ। भोलिपल्ट उठ्दा आमाका आँखा सुन्निएका राता थिए । रातभरी रुनु भएछ । माया लाग्यो कारण सोधेँ – आखिर कारण उही थियो– ’बिहे’ । आमाको सो अवस्था हेर्न सकिन । राजी भइदिएँ । उहाँहरु खुसी हुनुभयो । आफ्नो मन भने खिन्न । तर, बहिर खुशी नै भइदिएँ । केही दिनमै बिबाह सम्पन्न भयो, बिदा गर्ने बेला आमा र हजुरआमा खुबै रुनुभयो । म त झन के खुशी थिएँ र । एक त भरखरै पन्ध्र पुगेर सोर्ह मात्रै टेकेकी थिएँ, साथीहरु भन्दै थिए – ’त्यस्तो बुढोसँग किन बिहे गरेकी’ म चुपचाप केहि बोलिन मात्र हजुरआमाका कुरा मनमा आइरहे ‘रातमा ऐना हेरे बुढो पोइ पाइन्छ ।’
मन दुःखी, अर्काको घर–परिवार कस्तो होला ! कता–कता डर, त्रास तर घर–परिवार राम्रै हुनुहुँदोरहेछ । केटाकेटी नै छे जान्दिन भन्नुहुन्थ्यो । तर, यताउति हिँड्दा मलाई अप्ठ्यारो लाग्दथ्यो छरछिमेकी भन्थे– ‘बाबा छोरी’ जस्ता, मलाई लाज लाग्दथ्यो । कहिल्यै सँगै हिँडिन । हिँड्नै परे पनि उहाँको पछिपछि हिँड्थेँ । केही दिनको बसाइ पछि म पनि उहाँसँगै लाहुर गएँ । उहाँ ड्युटीमा जानुभयो, म एक्लै कोठामा बस्थेँ । गाउँघर अनि आमा, हजुरआमाको मात्र याद आउँथ्यो । दिन–रात रोएर बिताउँथेँ । कहिले कोठामा आउनुहुन्थ्यो, कहिले त महिनौंसम्म आउनु हुन्नथ्यो । मलाई डर लाग्दथ्यो । एक्लै कोठामा बस्न, बिस्तारै बानी पर्दै गयो । सधैंझैं यसपटक पनि धेरै दिन भइसकेको थियो उहाँ कोठा नआउनु भएको, फोन गर्नुभयो– ’मिल्यो भने घर आउँछु खाना पकाइ राख्नु ।’ म पनि उहाँ आउनुहोला भनेर खाना पकाएर कुरिरहेँ ! फेरि फोनआयो– ’म आउन नपाउने भएँ खाना खाएर सुते हुन्छ ।’ म पनि राति भइसकेको थियो खाना खाएर सुतेँ । करिब मध्यरात तिर फेरी फोनको घन्टी बज्यो यसो हेरेँ उहाँको मोबाइलबाट फोन आएको रहेछ मैले सोचेँ यो रातीमा आउनु भएछ । फोन उठाएँ, तर अर्कैको आवाज थियो । म भन्दै थिएँ – ‘यो मेरो श्रीमानको नम्बर हो,’ उताबाट जवाफ आयो– ‘म हजुरको श्रीमानको साथी बोलेको हजुरको श्रीमान बिरामी परेर अस्पताल ल्याएको छ । मिल्छ भने तुरुन्तै आउँनुहोस् ।’ म आत्तिएँ, बाहिर निस्किएँ, ट्याक्सी लिएर अस्पताल पुगेँ : अवस्था नाजुक, भेन्टिलेटरमा राखिएको रहेछ । भगवान पुकार्न बाहेक अरु उपाय केही थिएन । केही दिनको अस्पताल बसाइ पछि उहाँले यो सन्सार छोडेर जानुभयो म अचेत जस्तै भए । मनमा खाली हजुरआमाका शब्दहरूले घच्घच्याइ रह्यो ।
वास्तवमा भविष्य छर्लङ्ग नै थियो, जुन दिन जो सँग जानाजान विवाह तय भयो । न त रातमा ऐना नै हेर्न पर्दथ्यो न त ऐना झरेरै फुटिरहनु पर्दथ्यो आखिर फुटेको ऐना झै चकनाचुर भयो जिन्दगी ।।