गुल्मीको मालिका गाउँपालिका पूर्ण संस्थागत प्रसुती गाउँपालिका घोषणा
गुल्मी जिल्लाको मालिका गाउँपालिका जिल्लाकै पहिलो पूर्ण संस्थागत प्रसुती गाउँपालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति गुल्मीका अध्यक्ष लक्ष्मण पराजुलीले बिहीबार मालिका गाउँपालिकालाइ पूर्ण संस्थागत गाउँपालिका घोषण गर्नुभएको हो । प्रमुख अतिथी पराजुलीले आर्थिक अवस्थामा कमजोर भएको यस गाउँपालिकाले यस्तो उदाहरणीय काम गरेकोमा धन्यवाद दिदंै बजेट अनुसार वित्तिय र भौतिक प्रगतिमा मालिका गाउँपालिका अगाडि रहेको बताउनुभयो । बर्थिङ सेन्टर अझै व्यवस्थित गर्दै अझै सुधार गर्नुपर्ने पराजुलीले बताउनुभयो ।
यो पालिकाको अनुगमन निरन्तर गरेको र अब जनप्रतिनिधिहरुले अब ४ बर्षको समीक्षा गर्न जोड दिदै पूरा नभएका कामलाई अब बाँकी रहेको समयमा गर्न आग्रह गर्नुभयो । पालिका भित्रका ८ वटै स्वास्थ्य संस्थाबाट बर्थिङ सेवा रहेको गाउपालिका स्वास्थ्य प्रमुख बसन्त भुसालले जानकारी दिनुभयो ।
गाउँपालिका भित्र रहेका सुत्केरीको घरमा हरियो झण्डा कार्यक्रम लागू गरिएको र स्वास्थ्यकर्मीलाई तालिमका साथै थप प्रोत्साहनका कार्यक्रम गरिएको भुसालले बताउनुभयो । गर्भवती महिलाहरुलाई घरबाट स्वास्थ्य संस्थासम्म र स्वास्थ्य संस्थाबाट घरसम्म जानका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको भुसालले जानकारी दिनुभयो ।
घरमै सुत्केरी गराउँदा जोखिम रहने भएको र ज्यान समेत जान सक्ने अवस्था अन्त्य भएको गाउँपालिका उपाध्यक्ष देवा अर्याल रिजालले बताउनुभयो । सबैको साथ र सहयोगले गर्दा पूर्ण संस्थागत प्रसुती गाउँपालिका घोषण गर्न सफल भएको उपाध्यक्ष अर्यालले रिजालले बताउनुभयो । गुल्मी अस्पताल तम्घासका मेसु डाक्टर उत्तम पच्याले पूर्ण संस्थागत प्रसुति गाउँपालिका घोषणा गरेकोमा बधाई दिदैँ स्वास्थ्यकर्मीले पुराएको योगदानको कदर गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न आग्रह गर्नुभयो ।
कुनै पनि आमा बर्थिङ सेन्टरमा नगई बाटोमा मृत्यु हुने स्थिती सिर्जना नगर्न आग्रह गर्दै यो कार्यक्रम दिगो रुपमा अगाडि बढाउन डा.पच्याले आग्रह गर्नुभयो । इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले जिल्लामै पहिलो बनाउन सफल गाउँपालिकालाई बधाई दिदँै अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविका लगायत सम्पूर्णलाई धन्यवाद दिनुभयो । गुल्मी जिल्लाको कर्णाली भनेर चिनिने मालिकाले जिल्लाका ११ स्थानीय तहलाई उछिन्दै पहिलो पटक यस्तो काम गरेकोमा बधाई दिनुभयो ।
यो कार्यक्रम मात्र नभइ पालिकालाई बालविवाह मुक्त घोषणा गर्ने गाउँपालिका अध्यक्ष रित बहादुर थापाले बताउनुभयो । वैदेशिक रोजगारमा जान नपर्ने अवस्था सिर्जना गर्ने बताउनुभयो । कार्यक्रममा पूर्ण संस्थागत प्रसुती गाउँपालिका घोषणा गर्न आफ्नो क्षेत्रबाट सहयोग पुर्याउने स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि ,एम्बुलेन्स चालकहरु, राजनीति दलहरु र पत्रकारहरुलाइ सम्मान समेत गरिएको छ। जिल्ला समन्वय समिती गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यता, इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टको विशेष आतिथ्यता रहेको थियो ।
गाउँपालिका उपाध्यक्ष देवा अर्याल रिजाल, प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारी,गुल्मी अस्पताल तम्घासका मेसु डा.उत्तम पच्या, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख बोम अर्यालको आतिथ्यता रहेको थियो। गाउँपालिका अध्यक्ष रित बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन शोभखर गिरिले गर्नुभएको थियो । कर्मचारी, जनप्रतिनिधि, स्वास्थकर्मीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।