चाडपर्वको मौकामा चौका हान्न रोक्न बजार अनुगमन खोई ?
सम्पादकीय
नेपालीहरुको मुख्य चाडपर्व घर आँगनमा आइसकेको छ । बजारमा दैनिक उपभोग्य सामाग्री खरिदका लागि आम उपभोक्ताहरुको भिडभाड र चहलपहल पनि बेस्सरी बढिसकेको । २ वर्ष देखि जारी कोभिड महामारी थला परेको बजार भरखरै तङ्गरिन थालेको छ । कोभिडको कारण थिलथिलो बनेको अर्थतन्त्र राम्रोसँग सङ्गलिन र चलायमान हुन नपाउँदै आम नेपालीहरुको मुख्य पर्व नजिकिएको छ । सयौं वर्षदेखि नेपाल र नेपालीले मनाउँदै आएको परम्परागत चाड पर्वहरु गरीव, निमुखाका लागि रहर भन्दा पनि बाध्यता बनेको छ । हुँदा खाने र हुने खाने दुईथरी नागरिक छन मुलुकमा । हुनेखानेका लागि दिनहुँ दशैं छ भने हुँदा खाने सर्वसाधरणका लागि चाड पर्वहरु दशा बन्ने गरेको छ भन्दा अन्यथा नहोला ।
जव चाडपर्वहरु शुरु हुन्छन, यही समयमा नेपाली नागरिकहरु किनमेल र खर्च गर्न रमाउँछन । यो हामी नेपालीको मात्र नभएर हिन्दुधर्मावलम्वीहरुको सदियौंदेखिको परम्परा पनि हो । व्यापारीहरुले पनि यस्तै चाडपर्वलाई कमाउने मौकाको रुपमा लिने गरेको पाइन्छ । जसले गर्दा बजारमा कृतिम अभाव र कालोबजारी मौलाउने र फस्टाउने समय पनि हो । यस्तो बेलामा नियामक निकायहरु बढी नै चनाखो हुनुपर्ने भएपनि त्यो देखिएको छैन । जसका कारण सर्वसाधरण नागरिक चाड पर्वको समयमा अली बढी नै ठगिने गरेको गुनासो बाहिर आउने गरेका छन । किनमेलका नाममा अनावश्यक चहलपहल र मानिसहरुको भिडभाडले बजार तताउने काम त गर्छ नै । तर ठगिनेक्रम पनि त्यतिकै बढदो छ । यसलाई नियन्त्रणको गर्नको लागि उपभोक्ता स्वंम जिम्मेवार हुनु अनिवार्य हुन्छ ।
जव साउन पछाडि जव चाड पर्वको सिजन शुरु हुन्छ तव सरकार र नियमणकारी निकायहरु अनुगमनको हौवा फैलाउन थाल्छन । परिणाम दिने भन्दा पनि प्रचारमुखी अनुगमनका कारण बजार नियन्त्रणमा आउने भन्दा पनि अझ कालो बजारी बढिरहेको छ । सरकारले मुल्य नियन्त्रण र कालोबजारी रोक्नका लागि भन्दै दशैं पसल खोलेको छ । तर ती पसलहरु पनि प्रभावकारी बन्न सकिरहेको छैन । बढि से बढि यस्ता सहुलियत पसलहरु खोलेर निजी क्षेत्रको बढदो मंहगी नियन्त्रण र हस्तक्षेप गर्न जरुरी छ । यस्का लागि सरकारले आफना संयन्त्रलाई परिचालित गर्नु अहिलेको आवश्यकता हो । साथै उपभोक्ता अधिकारकर्मीहरुको पनि यस्मा ध्यान जान जरुरी हुन्छ ।