अमेरिकालाई चीनको चेतावनी, नेपालसँग असन्तुष्ट
चीनले आफूलाई कमजोर नआँक्न अमेरिकालाई चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले अमेरिकी राष्ट्रपति जो बाइडेनको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै कसैले पनि आफ्नो राष्ट्रिय सम्प्रभुता तथा क्षेत्रीय अखण्डताको रक्षाको लागि चिनियाँ नागरिकको दृढ संकल्प र क्षमतालाई कमजोर नआँक्न चेतावनी दिएका हुन् ।
यो विषयमा चीनले कुनै पनि सम्झौता नगर्ने उनको भनाइ छ । यसअघि बाइडेनले चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए । बाइडेनको यो अभिव्यक्ति पछिल्लो समय अमेरिकाले लिएको नीतिको विपरीत हो ।
अमेरिकामा एक कार्यक्रममा बोल्दै बाइडेनले चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए । यद्यपि त्यसको केही समयपछि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले अमेरिकाको नीतिमा कुनै पनि परिवर्तन नआएको बताएका थिए ।
त्यस्तै ताइवानले पनि बाइडेनको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै यसले चीनसँगको सम्बन्धमा कुनै असर नपर्ने बताएको छ ।
यसैवीच चिनियाँ विदेशमन्त्री वाङ् यीले अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा आफ्नो विकासको मोडल अन्यत्र निर्यात गर्ने चीनको मनसाय नरहेको बताएका छन ।
बेइजिङस्थित नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेसँगको बिदाई भेटमा वाङ्ले त्यस्तो बताएको चिनियाँ सरकारी समाचार संस्था सिजिटिएनले लेखेको छ ।
‘हामी अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अथवा आफ्नो विकासको मोडल निर्यात गर्न चाहँदैनौँ । बरु, चीन आफ्नो अनुभव नेपाल लगायत अन्य मुलुकसँग बाँड्दै ती मुलुकसँग अन्तरक्रिया बढाउन चाहन्छ’ स्टेट काउन्सिलर समेत रहेका चिनियाँ विदेशमन्त्री वाङ्ले पाण्डेसँग भने ।
वाङ्ले चीन—नेपाल सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि ब्यक्त गरेको बताइएको छ । देउवा सरकारले चीनसँग सीमा विवाद रहेको बताउँदै एक समिति बनाएपछि चीन असन्तुष्ट बनेको कूटनीतिज्ञहरु बताउँछन् । चीनसँगको सीमा विवाद राजा महेन्द्रको पालामा मिलेको वताउँदै कूटनीतिज्ञहरुले अहिले भारतलाई खुशी पार्न चीनसँग पनि सीमा विवाद रहेको चर्चा चलाइरहेको बताएका छन् ।
पाण्डेले राजदूत रहँदा दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धका लागि पुर्याएको योगदानको प्रशंशा गरेका थिए ।
चीन र नेपाल लामो समयदेखिका निकट मित्र रहिआएको चर्चा गर्दै द्विपक्षीय सम्बन्धमा नयाँ उपलब्धी हासिल गर्न मिलेर काम गर्नुपर्ने बताए । ‘साथै, क्षेत्रीय शान्ति, स्थिरता र समृद्धि कायम गर्न दुवै देश मिलेर काम गर्नुपर्छ’ वाङ्ले भने ।
भेटमा पाण्डेले चीनले कोरोना महामारीविरुद्धको लडाइँमा पाएको सफलता तथा आर्थिक तथा सामाजिक विकासमा गरेको प्रगति चीनमा राजदूत रहँदा प्रत्यक्ष देखेको बताए ।
आगामी मंगलबार स्वदेश फर्किन लागेका राजदूत पाण्डेलाई बिहीबार साँझ चिनियाँ विदेशमन्त्रालयका डाइरेक्टर जेनरलले बिदाई भोज दिएका थिए ।
त्यही दिन दिउँसो उनको चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता भएको थियो । अघिल्लो ओली सरकारद्वारा राजदूत नियुक्त पाण्डेलाई देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएको हो ।