वेमौसमी वर्षाले १११ को मृत्यु

काठमाडौं । असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको वेमौसमी अविरल वर्षासँगै आएको बाढीपहिरोले एक सय ११ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३३ जना अझै बेपत्ता रहेका छन् भने ठूलो मात्रामा भौतिक संरचना ध्वस्त भएको छ । त्यस्तै यो वर्षाले सवैभन्दा ठूलो मार किसानलाई परेको छ ।
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा दुई जना र बागमती प्रदेशमा एकजना गरी जम्मा १११ जनाको मृत्यु भएको हो ।
यस्तै सुदूरपश्चिम प्रदेशमा २० जना, प्रदेश १ मा ९ जना, लुम्बिनी प्रदेशमा दुई जना, प्रदेश २ र कर्णालीमा एक÷एक जना बेपत्ता भएका छन् । साथै प्रदेश १ मा १८ जना, सुदूरपश्चिम प्रदेशमा १३ जना र कर्णाली प्रदेशमा एक जना गरी जम्मा ३२ जना घाइते भएको केन्द्रले जनाएको छ ।
त्यस्तै बेमौसमी वर्षाले मुख्य गरी तराई क्षेत्रको पश्चिम भागको बर्दिया, कपिलवस्तु, बाँके, रुपन्देही, कैलाली र कञ्चनपुर र पूर्वी क्षेत्रको झापा, मोरङ्ग र सुनसरीमा लगाइएको धानबालीमा क्षति पु¥याएको छ ।
बाढीपहिरो र डुबानले विभिन्न जिल्लामा गरी ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा नोक्सान पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १ लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लागाइएको धानबालीमा क्षति पुगेको छ । अविरल वर्षाका कारण मुख्य गरी तीन प्रदेश प्रभावित हुन पुगेको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशको ९३ हजार ५७६ हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ भने यसबाट ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको नोक्सान हुन पुगेको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशको प्रभावित ५५ हजार हेक्टर क्षेत्र मध्ये १८ हजार हेक्टरमा लगाइएको धानबाली पूर्णरुपमा क्षति भएको छ भने यसबाट १ अर्ब ९१ करोड रुपैयाँ नोक्सान पुगेको मन्त्रालयले जनाएको छ । यता, प्रदेश नम्बर १ मा पनि सोही वर्षाले ४९ हजार ९४५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा प्रभाव पारेको र सोबाट लगभग ८० करोड रुपैयाँ बराबरको नोक्सान हुन पुगेको मन्त्रालयले जनाएको छ ।