गुल्मीको रेसुंगा नगरपालिकामा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन

गुल्मी– रेसुंगा नगरपालिकामा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन भएको छ । रेसुंगा नगरपालिकाको आयोजना तथा संग्राम शार्दुल गुल्म, धागीथुम ब्यारेकको सहआयोजनामा सामुदायिक विपद् प्रतिकार्य तालिमको शुरु गरिएको हो । रेसुंगा नगरपालिकाको सभाहलमा शुरु भएको तालिमको मंगलबार नगरप्रमुख डिल्लीराज भुसालले उद्घाटन गर्नुभएको थियो ।

नगरप्रमुख भुसालले अरुलाई पनि सिकाउन सक्ने गरी तालिम लिन सहभागीहरुलाई निर्देशन दिनुभयो । नगरप्रमुख भुसालले विपद् जुनसुकै बेला पनि आउन सक्ने भएकाले यसको पूर्व तयारीका लागि नगरपालिका सतर्क रहेको बताउनुभयो । भुसालले विपद् जहाँ जतिबेला पनि आउन सक्ने बताउँदै तालिमले आगामी दिनमा हुन सक्ने विपद्का घटनामा तत्काल खोज, उद्धारका लागि जनशक्ति तयार पार्नु पनि रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेलले राज्यले विपद्का सन्दर्भमा थोरै लगानी गरेको बताउनुभयो । तर पनि थोरै लगानीले पनि धेरै ठुलो क्षति हुनबाट जोगाउन सकिने प्रजिअ पौडेलको दाबी रहेको छ । विपद् जहिले पनि आउन सक्ने भएकाले विपद्संग जुध्न पूर्वतयारी मजबुत बनाउनुपर्ने बताउनुभयो ।
‘विपदको बेलामा सबैभन्दा पहिला सूचना दिने पनि समुदायकै मान्छेले हो । त्यसलाई सम्बोधन गर्ने पनि समुदायकै मान्छेले नै हो ।’ प्रजिअ पौडेलले भन्नुभयो ‘तालिमको अभावमा विपद्मा खट्दा मानिसले आफ्नै ज्यान जोखिममा राख्ने अवस्था समेत हुन सक्छ ।’ तालिम प्राप्त जनशक्ति तयार पारेर राखियो भने विपद्संग जुध्न सजिलो हुने पौडेलले बताउनुभयो ।
रेसुंगा नगरपालिका विपद् व्यवस्थापन समिति अध्यक्ष भरत भलामीले विकास गर्दा ख्याल नगरिए त्यसले विपद् निम्ताउने बताउनुभयो । विकाससंगै विनाशलाई न्यूनिकरणको अध्ययन अवलोकन गरेर मात्र विकास गरिनुपर्ने बताउँदै भलामीले यसप्रति जनप्रतिनिधि र नगरपालिका सहज बन्दै गएको उल्लेख गर्नुभयो । चार दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन कार्यक्रममा संग्राम शार्दुल गुल्म, धागीथुम ब्यारेकका गुल्मपती सेनानी राजन भुजुले स्वागत गर्दै विपद्को अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो ।
रेसुंगा नगरपालिका उपप्रमुख सीता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भक्तिाराम मरासिनी, प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, सशस्त्र प्रहरी गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक लम्साल, राष्ट्रिय अनुसन्धान अधिकृत दिनेश पोखरेल, तालिम संयोजक शेर बहादुर कुँवर, वडाअध्यक्षहरु पदमप्रसाद अर्याल, भरत भलामी, विजय मरासिनी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले गर्नुभएको थियो । तालिममा विभिन्न वडाका प्रतिनिधि, नगरप्रहरी, चालकहरु सहभागी भइरहेका छन् ।