गुल्मीको रेसुङ्गा नगरपालिकाले वडातहमै पुगी एकिकृत
घुम्ती शिविर सञ्चालन
गुल्मीको रेसुङ्गा नगरपालिकाले वडातहमै पुगी एकिकृत घुम्ती शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको छ । बुधबार रेसुङ्गा नगरपालिका वडा नं.६ मा अवस्थित साउनेथुम निम्न माध्यमिक विद्यालयमा एकिकृत घुम्ती शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको हो । ‘रेसुंगा नगरपालिकाको नागरिक मैत्री सेवा प्रवाहको अभियान, घुम्ती शिविरबाट बहुसेवा प्रवाह तथा गुनासो व्यवस्थापन’ भन्ने नाराका साथ एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको थियो । एकिकृत घुम्ति शिविरको उद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गर्नुभएको थियो । शिविरको उद्घाटन गर्दै मेयर भुसालले अवसरको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले अहिलेको एक्काइसौं शताब्दीमा नागरिक सेवा खोज्दै कार्यालयमा जाने होइन, कार्यालय नै जनताको घरदैलोमा उपस्थित भएर सेवा दिनुपर्ने बताउनुभयो । सोही मर्म अनुसार रेसुङ्गा नगरपालिकाले वडातहमै पुगेर एकिकृत घुम्ति शिविरबाट बहुसेवा प्रवाह गरेको दाबी गर्नुभयो । शिविरमा
स्वास्थ्य जाँच तथा औषधोपचार, कोभिड खोप वितरण, आँखा जाँच गरिएको थियो । सामाजिक सुरक्षा सेवा अन्र्तगत जेष्ठ नागरिक परिचयपत्र तथा अपांग परिचयपत्र नविकरण तथा वितरण गरिएको छ । कृषि विकासतर्फ माटो परीक्षण, बीउ विजन वितरण गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत मरासिनीका अनुसार शिविरबाट २ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । भने निःशुल्क औषधी पनि वितरण गरिएको मरासिनीले जानकारी दिनुभयो । २ सय ९६ जनाको आँखा परीक्षण गरिएको छ । जसकम १० जनाको तत्काल नै अप्रेसन गर्नुपर्ने देखिएको छ । माटो परीक्षणका लागि १५५ जना कृषिकहरुले ल्याएको माटो संकलन गरिएको मरासिनीले जानकारी दिनुभयो । १०५ जना कृषकहरुलाई पशुहरुको औषधी वितरण गरिएको छ । ४० भन्दा बढी जेष्ठ नागरिक परिचयपत्र तथा ७ वटा अपाङ्गता परिचयपत्र वितरण गरिएको मरासिनीले जानकारी दिनुभयो ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको अध्यक्षता रहेको कार्यक्रममा उप–प्रमुख सिता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, रेसुङ्गा नगरपालिकाका प्रवक्ता तथा वडा नं.१० का वडाअध्यक्ष पदमप्रसाद अर्याल, वडाअध्यक्ष गनब हादुर गुरुङ्ग, गुल्मी अस्पतालका स्वास्थ्यकर्मीहरु, नेत्र ज्योति संघ गुल्मीका नेत्र अधिकृत सूर्य बस्नेत, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, नगरपालिकाका कर्मचारी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले गर्नुभएको थियो ।