चेक्मी आधारभूत स्वास्थ्य सेवा केन्द्र रेसुंगा नगरपालिकाको नवनिर्मित भवनको उदघाटन

चेक्मी आधारभूत स्वास्थ्य सेवा केन्द्र रेसुंगा नगरपालिका ६ गुल्मीको नवनिर्मित भवनको उदघाटन गरिएको छ । बुधबार भवनको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै मेयर भुसालले स्वास्थ्य सेवा केन्द्र स्थापना गर्नका लागि आवश्यक जग्गा निःशुल्क प्रदान गर्ने जग्गादाताप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

मेयर भुसालले अहिले रेसुङ्गा नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउँदै स्वास्थ्य सेवा केन्द्रको सही सदुपयोगका लागि आग्रह गर्नुभयो । त्यस अवसरमा जग्गादाताहरु बेदुराम मरासिनी र दिलकुमारी मरासिनीका छोराहरु हरिप्रसाद मरासिनी, कृष्णप्रसाद मरासिनी र विष्णुप्रसाद मरासिनीलाई सम्मान गरिएको थियो ।

वडा नं.६ का वडाअध्यक्ष गन बहादुर गुरुङ्गको अध्यक्षता रहेको कार्यक्रममा मेयर भुसालको प्रमुख आतिथ्यता रहेको थियो । उप–प्रमुख सिता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, रेसुङ्गा नगरपालिकाका प्रवक्ता तथा वडा नं.१० का वडाअध्यक्ष पदमप्रसाद अर्याल, गुल्मी अस्पतालका स्वास्थ्यकर्मीहरु, नेत्र ज्योति संघ गुल्मीका नेत्र अधिकृत सूर्य बस्नेत, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, नगरपालिकाका कर्मचारी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले गर्नुभएको थियो ।