होटल व्यवसायी मञ्च गुल्मीले
खाजा तथा खानाका परिकारमा मूल्य समायोजन
होटल व्यवसायी मञ्च गुल्मीले ३ वर्ष पछि खाजा तथा खानाका परिकारमा मूल्य समायोजन गरेको छ । होटल व्यवसायी मञ्चको कार्यालय क्याम्पसरोड तम्घासमा होटल व्यवसायी मञ्चका अध्यक्ष भेषराज कंडेलको अध्यक्षतामा बसेको बैठकले खाजा तथा खानाका परिकारमा न्यूनतम ५ देखि अधिकतम १५ प्रतिशतसम्म मूल्य वृद्धि गरि समायोजन गरेको हो ।
बैठकमा होटल व्यवसायी मञ्चका उपाध्यक्षहरु विष्णुप्रसाद ज्ञवाली तथा जंग बहादुर कुँवर, सचिव लालमणि आचार्य, कोषाध्यक्ष टिकाराम भण्डारी, सह–सचिव मधु महर्जन, सदस्यहरु मैया कार्की, कृष्ण प्रसाद श्रेष्ठ, खुमानन्द ज्ञवाली, पार्वती गौतम, पार्वती गौचन, धनकला गौतम, झविन्द्र भट्राई, टेमलाल खनाल, उपभोक्ता मञ्च नेपालका प्रतिनिधि मुकुन्दहरि गौतम पत्रकार लगायतको रोहबरमा बसेको बैठकले मूल्य समायोजन गरेको हो ।
समायोजन गरिएको मूल्य भोली देखि लागू गरिने होटल व्यवसायी मञ्चका अध्यक्ष कंडेलले जानकारी दिनुभयो । दुई वर्षघि नै मूल्य समायोजन गर्नुपर्ने भएपनि कोभिड–१९ महामारीका कारण गर्न नसकिएको भन्दै आगामी दुई वर्षका लागि खाना, खाजा तथा मासुका परिकारमा मूल्य समायोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
कोभिड–१९ महामारीका कारण गत वर्ष नै मूल्य समायोजन गर्नुपर्ने भए पनि ढिलाई भएको कंडेलले बताउनुभयो । कच्चा पदार्थहरुमा अत्याधिक मूल्य वृद्धि भएको भन्दै उपभोक्ताहरुलाई मर्का नपर्ने गरि मूल्य समायोजन गरिएको समेत उहाँले जानकारी दिनुभयो । होटल व्यवसायी मञ्च होटल व्यवसायीहरुको साझा संस्था हो ।
यसमा जिल्लाभरका करिब ९ सय जना होटल व्यवसायीहरु आवद्ध हुनुुहुन्छ । यस जिल्लामा पर्यटकीय होटलहरु ८० वटा रहेका अध्यक्ष कंडेलले जानकारी दिनुभयो । मञ्चको केही समय पछि साधारण सभा तथा अधिवेशन गर्नुपर्ने भएकाले जिल्लाभर नै आन्तरिक अनुगमन तथा होटल व्यवसायीहरुंग अन्र्तक्रिया र भेटघाटका कार्यक्रम समेत सञ्चालन गरिने उहाँले जानकारी दिनुभएको छ ।