गुल्मी अस्पतालमा खरिद गरिएको अक्सिजन प्लान्टका विषयमा शुशासन अभियानद्वारा चासो व्यक्त

गुल्मी अस्पतालमा खरिद गरिएको अक्सिजन प्लान्टका विषयमा ट्रान्स परेन्सी इन्टरनेश्नलमा आवद्ध संस्था शुशासन अभियानले चासो देखाएको छ । प्लान्ट खरिद गरिएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकिरहेको भन्दै अभियानले चासो देखाएको हो । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी अस्पतालमै अक्सिजन उत्पादन गर्ने उदेश्यका साथ प्लान्ट खरिद गरिएको थियो । गुल्मी उद्योग वाणिज्य संघले आफ्नै लगानीमा अक्सिजन प्लान्ट राख्ने भवन बनाउने जिम्मा लिएको थियो ।

प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्लास्थित सामाजिक संघसंस्था तथा व्यक्तिहरुको सहयोगमा ६० लाख संकलन गरिएको थियो । बुधबार अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डे लगायतसंग प्रत्यक्ष छलफल गरि अक्सिजन प्लान्ट जडानको कार्य तथा सञ्चालनका लागि गरिएको पूर्व तयारीका विषयमा जानकारी लिइएको शुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेले जानकारी दिनुभयो । त्यस अवसरमा गुल्मी अस्पताल विकास समितिका अध्यक्ष पाण्डेले प्लान्ट जडान कार्य गरिएपनि जनशक्ति अभाव रहेको बताउनुभयो । जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारसंग माग गरिरहेको जानकारी दिनुभयो ।

सोही अवसरमा सुशासन अभियान गुल्मीका उपाध्यक्ष ढुण्डीराज पोखरेल तथा सदस्य रामप्रसाद खनालले अस्पतालबाट प्राप्त हुने सेवालाई सहज र सरल बनाउनका लागि आवश्यक सुझाव समेत दिनुभएको थियो । गुल्मी अस्पतालमा रिपोर्ट लिनका लागि सेवाग्राही उभिने ठाउँलाई व्यवस्थित गर्नुपर्ने, अस्पताल हाताभित्रको सरसफाई र ध्वनी प्रदुषणमा ध्यान पु¥याउनुपर्ने, रिपोर्ट लिने समयको पुर्नविचार गर्नुपर्ने सुझाव दिनुभएको थियो । प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने अस्पतालले जनाएको छ । जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालन भए यसबाट प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन हुने बताइएको छ ।