गुल्मीको रेसुङ्गा नगरपालिकामा लैङ्गिक
हिंसा सम्बन्धी अन्तरक्रिया

 लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । गुल्मीका विभिन्न स्थानीयतहमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत रेसुङ्गा नगरपालिकामा पनि बुधबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

 रेसुङ्गा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ सरोकारवालहरुबीच अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधिहरु, कार्यपालिका सदस्य, वडाअध्यक्ष, राजनैतिक दलका प्रतिनिधिहरु लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । 

त्यस अवसरमा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले सामाजिकीकरणका कारण महिला हिंसाका घटना हुने गरेको बताउनुभयो । ‘हिंसाको उन्मुलनका लागि हरेक वर्ष १६ दिन महिला हिंसा विरुद्धको अभियान सञ्चालन हँुदै आएको छ ।’ उहाँले भन्नुभयो,–‘महिला हिंसा अन्त्यका लागि प्रहरी प्रशासनको ध्यान भने ३६५ दिन नै हुन्छ ।’ प्रजिअ पौडेलले महिला हिंसा विरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि जराधारतह सम्म पुग्न नसकेको बताउनुभयो । सामाजिक संरचनाका कारण पनि महिला हिंसा कायमै रहेको उल्लेख गर्दै पौडेलले महिला हिंसा विरुद्धका कार्यक्रम र अभियानलाई जराधारतहसम्म पु¥र्यानुपर्ने बताउनुभयो ।

“नेपालका ९० प्रतिशत महिलाहरुले साँझ असुरक्षित महसुस गर्छन”

नेपालका ९० प्रतिशत महिलाहरुले साँझ असुरक्षित महसुस गर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले प्रस्तुत गरेको विवरण अनुसार ७० प्रतिशत महिलाहरुले विहान सवेरै आफुलाई असुरिक्षत महसुस गर्छन् ।

सहभागीहरुलाई लैङ्गिक हिंसा सम्बन्धी प्रशिक्षण दिंदै भट्टराईले संसारका ३५ प्रतिशत महिलाहरुले लैङ्गिक हिंसा व्यहोरिरहेको तथ्य प्रस्तुत गर्नुभयो । भट्टराईका अनुसार ३८ प्रतिशत महिलाको हत्या आफ्नै यौन साथीबाट हुने गरेको छ । नेपालमा ४० प्रतिशत महिलाहरुले मानसिक हिंसा, २७ प्रतिशतले शारीरिक, १५ प्रतिशतले यौन हिंसा र ८ प्रतिशतले आर्थिक हिंसा व्यहोर्ने गरेका बताउनुभयो । ‘नेपालका १५ देखि ४९ वर्षका महिलाहरुमध्ये २२ प्रतिशतले शारिरीक र १२ प्रतिशतले यौन हिंसा व्यहोर्ने गर्छन् ।’ उहाँले भन्नुभयो,‘ नेपालका ६६ प्रतिशत महिलाहरुलाई लैंगिक हिंसा सम्बन्धी कुनै ज्ञान छैन्।’ 

प्रहरी उपरीक्षक भट्टराईले गुल्मी जिल्लामा पनि अधिकांश महिला हिंसा सम्बन्धी घटनाहरु हुने गरेको बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयमा यस आर्थिक वर्षमा मात्रै ४० वटा उजुरी महिला हिंसा सम्बन्धी परेको बताउनुभयो । त्यसमध्ये ३१ वटा घटनालाई मिलापत्र गराएर छोडिएको र ९ वटा महिला हिंसाका घटना जिल्ला अदालत पठाईएको जानकारी दिनुभयो । जिल्ला न्याधीवक्ता दयाशंकर अधिकारीले महिला हिंसाको घटनाप्रति कानुनी प्रावधानहरुका विषयमा जानकारी गराउनुभएको थियो ।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले मूलतः मानिसले आफ्नो जीवन यापन गर्दा बाँच्नका लागि संघर्ष गरिरहँदा र सांसरिक माया, लोभ र मोहका कारण हिंसा हुने गरेको बताउनुभयो । मरासिनीले समर्पण, सहानुभूति, सहिष्णुता, दया र करुणा, नैतिकताले मात्रै महिला हिंसाको अन्त्य गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

महिला अधिकारकर्मी हिरा कुँवरले सामाजिक संरचना, धार्मिक मान्यता तथा पृत्री सत्तात्मक सोचका कारण पनि महिला हिंसाका घटनामा सुधार हुन नसकिरहेको उल्लेख गर्नुभयो । कुँवरले महिला हिंसाका घटनामा अपेक्षित सुधार हुन नसकिरहेको बताउँदै मानव अधिकार सुनिश्चितताका लागि राजनैतिक प्रतिवद्धता, सरोकारवालाको प्रभावकारी भूमिका र राज्यले जिम्मेवारी बोध गर्नुपर्ने बताउनुभयो । मानव अधिकारसम्बन्धी बनेका कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनुपर्ने कुँवरको भनाई छ । 

महिला अधिकारकर्मी भगवती श्रीसले पनि महिला हिंसा अन्त्यका लागि परिवारको ठुलो भूमिका हुने उल्लेख गर्नुभयो । उपप्रमुख सीता भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक थम्मन बहादुर केसीको स्वागत रहेको थियो । भने वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, थम्मन केसी, हरिप्रसाद शर्मा खनाल, मोहनप्रसाद पाण्डे, पदमप्रसाद अर्याल, कार्यपालिका सदस्यहरु देवी कुवर सावित्रा भण्डारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन रेसुङ्गा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी पार्वती पन्थीले गर्नुभएको थियो ।