कोभिड–१९ सम्बन्धी लान्छना न्यूनिकरणका
लागि सचेतनामूलक कार्यक्रम सम्पन्न
गुल्मीमा आप्रवासी तथा तिनीहरुको दम्पत्तीका लागि एच.आई.भी, क्षयरोग टिबी रोकथाम तथा कोभिड–१९ सम्बन्धी लान्छना न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सोमबार सदरमुकाम तम्घासमा स्वास्थ्य कार्यालय गुल्मीको आयोजना तथा राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक), गुल्मीको समन्वयमा यो कार्यक्रम सम्पन्न गरिएको हो ।
राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) गुल्मीले सन् २००९ बाट स्वास्थ्य क्षेत्रतर्फ एच.आई.भी र क्षयरोग (टिबी) रोगको रोकथामका लागि ग्लोबल फण्ड र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा ग्रामीण क्षेत्रमा पुगेर काम गरिरहेको छ । कार्यक्रम संयोजक डिबी पछाईका अनुसार रोजगारीको लागि भारत गएका र तिनीहरुको दम्पतीलाई लक्ष्यित गरेर यो कार्यक्रम सञ्चालित छ ।
सचेतनामूलक कार्यक्रमको उद्देश्यका विषयमा सेभ द चिल्डे«नका सुभास श्रेष्ठले जानकारी गराएका थिए । संस्थाले जिल्लामा क्षयरोग (टिबी) को पनि सँगसँगै कार्यक्रम अगाडी बढाएको छ । संस्थाका कार्यकारी निर्देशक रेशम कुँवरका अनुसार यस संस्थाले गुल्मी र पाल्पा गरि दुई जिल्लामा एच.आई.भी र क्षयरोग (टिबी) रोगको रोकथामका लागि कार्यक्रम गरिरहेको छ ।
सोही अवसरमा स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपती आचार्यले सहभागीहरुलाई एच.आई.भी र क्षयरोगका विषयमा जानकारी गराउँदै कोभिड–१९ बाट संक्रमित भई उनीहरुले भोग्नु परेको लान्छनाका विषयमा जानकारी दिए ।
मास्कको अनिवार्य प्रयोग गर्ने भौतिक दुरी कायम गर्ने र बेला–बेलामा स्यानिटाइजरको उचित प्रयोग गर्ने अथवा साबुन पानीले मिचिमिच हात धुने बानी बसाले कोभिड–१९ बाट बच्न सकिने उनले बताए । कोभिड–१९ लाई लिएर समाजमा विभिन्न भ्रमहरु समेत सिर्जना हुने गरेको बताउँदै त्यस्ता भ्रमहरुको विश्वास नगर्न पनि आग्रह गरे ।
कोभिड–१९ को महामारीको अवस्था कायमै रहेकाले यससंग सम्बन्धीत कुनै लक्षण देखा परे तुरुन्त एन्टीजेन परीक्षण गर्न पनि आग्रह गरे । पछिल्लो समय एन्टीजेन परीक्षणमा कमी आएको भन्दै सबैको सहयोगमा परीक्षणको दायरा बढाउनुपर्ने बताए ।
स्वास्थ्य कार्यालय गुल्मीका फोकल पर्सन गोपाल कार्कीले कोभिड–१९ का विविध पक्षहरुमाथि जानकारी दिएका थिए । उनले पछिल्लो समय कोभिड–१९ संक्रमणलाई वेवास्ता गर्ने गरिएको पाइएको बताए । रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरी बहादुर खत्रीले सचेतनामूलक कार्यक्रम अत्यन्त प्रभावकारी भएको जानकारी दिए ।
त्यस अवसरमा रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्याल, महेन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनी, सिद्धबाबा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक युवराज अर्याल, रेसुङ्गा माध्यमिक विद्यालयका शालिकराम पन्थ, जिल्ला समन्वय समितिका योगराज अर्याल, नार्डेक नेपालका गुणानिधि शर्मा, पत्रकार सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।