गुल्मीमा ५६ जनाको मोतीविन्दुको
निःशुल्क शल्यक्रिया

        गुल्मीमा ५६ जनाको मोतीविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । डाक फाउण्डेनको सहयोग तथा नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र, तम्घास, गुल्मीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको आँखा परीक्षण शिविरबाट मोतिविन्दुको शल्यक्रिया गर्नका लागि छनौट भएकाहरुको निःशुल्क शल्यक्रिया गरिएको हो । 

नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीका अध्यक्ष शेर बहादुर थापाले आगामी दिनमा पनि शिविरहरु जिल्लाका अन्यत्र स्थानहरुमा पनि सञ्चालन गरिने बताउनुभयो । कोभिड–१९ को महामारीका कारण आफुहरुको लक्ष्यअनुसार शिविर सञ्चालन गर्न नसकिएको थापाले बताउनुभयो ।
जिल्ला आँखा उपचार केन्द्र तम्घासमा यहि पौष ९ र १० गते आयोजना गरिएको निःशुल्क आँखा शिविरमा झण्डै २ सय भन्दा धेरैले आँखा परीक्षण गराएका नेत्र अधिकृत सूर्य बस्नेतले जानकारी दिए । सोही शिविरबाट छनौट भएका सहित ५६ जनाको मोतिविन्दुको निःशुल्क सफल शल्यक्रिया गरिएको बस्नेतले जानकारी दिए ।
शल्यक्रियाका लागि रणअम्बिका शाह आँखा अस्पताल भैरहवाका हाल परासी आँखा अस्पतालका निर्देशक सर्जन डा.सविता ढकाल तथा जिल्ला आँखा उपचार केन्द्र तम्घासको समुहले मोतिविन्दुको शल्यक्रिया गरेको हो । नेत्र अधिकृत बस्नेतका अनुसार यस अघिका मोतिविन्दुको शल्यक्रियाका लागि सम्पूर्ण जनशक्ति बाहिरबाट ल्याउनुपथ्र्यो । तर अहिले एक जना मात्र सर्जन डाक्ट्र बाहिरबाट आउनुभएको र बाँकी जिल्ला आँखा उपचार केन्द्रका जनशक्ति सहितको समुहले शल्यक्रिया गरेको हो ।
जिल्ला आँखा उपचार केन्द्र तम्घासमा अहिले आफ्नै अत्याधुनिक ए–स्क्यान मेसिन रहेको छ । यसबाट मोतिविन्दुको शल्यक्रियापछि आखाँ भित्र राख्ने लेन्सको पावन मापन गरिन्छ । यसले उपचारमा थप सहजता प्रदान गरेको बस्नेतले जानकारी दिए । मोतिविन्दुको शल्यक्रियाका लागि अन्य जनशक्ति जिल्लामै भएपनि मुख्य सर्जन डाक्टर नहुँदा बाहिरबाट बोलाउनुपर्छ । जिल्ला आँखा उपचार केन्द्र तम्घासमा आँखाको ९० प्रतिशतसम्म उपचार हुन्छ । जिल्लामा दैनिक आँखाको माइनर शल्यक्रिया र मासिक मोतिविन्दुको मेजर शल्यक्रिया गरिदैं आएको बस्नेतले जानकारी दिए ।
आँखा उपचार केन्द्रले सदरमुकाम बाहिर ३ वटा उपशाखामार्फत सेवा प्रवाह गरिरहेको छ । उक्त उपशाखाहरुबाट स्थानीयस्तरमै पनि आँखाको ६० प्रतिशत रोगको उपचार हुँदै आएको नेत्र अधिकृत बस्नेतले बताए । हाल सदरमुकाम बाहेक सिमलटारी आखाँ उपचार केन्द्र मालिका गाउँपालिका–८, शान्तिपुर आखाँ उपचार केन्द्र चन्द्रकोट गाउँपालिका र कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्र मुसिकोट नगरपालिका वामीटक्सारबाट यसले सेवा पुर्याउँँदै आएको छ ।
यसले जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालयहरुमा पुगी विद्यार्थीहरुको दृष्टि परीक्षण, समय–समयमा दातृ संस्थाहरुको सहयोगमा दृष्टिदोष भएका बालबालिका तथा ५० वर्ष भन्दा माथिकालाई निःशुल्क चस्मा वितरण गर्दै आएको छ । यसले हालैमात्र जिल्लाको धुर्कोट, हाडहाडे, पिपलधारा र नयाँगाउँमा विद्यार्थीहरुको दृष्टि परीक्षण सम्पन्न गरेको छ । त्यहाँ रहेका २३ वटा विद्यालयाका २४ सय विद्यार्थीहरुको दृष्टि परीक्षण गरिएको नेत्र अधिकृत बस्नेतले जानकारी दिनुभयो । जसमा दृष्टिदोष देखिएका २७ जना विद्यार्थीहरुलाई सेवा नेपालको सहयोगमा निःशुल्क चस्मा वितरण गरिएको छ ।