सन नेपाल लाईफ इन्स्योरेन्सद्धारा पराल्मी रातामाटाका विक परिवारलाई मृत्यु दावी भुक्तानी

सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं.१४ का लोक बहादुर विकको परिवारलाई एक लाख १२ हजार नौ सय रुपैयाँ हस्तान्तरण गरेको छ । विमाङ्क एक लाख र आर्जित बोनस वापतको रकम बाह्र हजार नौ सय मृत्यु दावी भुक्तानी गरेको हो ।

लोक बहादुरले सन नेपाल लाईफ गुल्मी शाखामा दुई वर्ष अघि एक लाख विमाङ्कको नवीन आजीवन बीमा पोलिसी गर्नुभएको थियो । केहि समय अघि कृषि कर्म गर्दै आइरहेका विकको घरमै अचानक मृत्यु भयो । कम्पनीले उक्त रकम बरावरको चेक विमित स्वर्गीय लोक बहादुर विकको श्रीमती सावित्रा विकलाई घरमै पुगेर प्रदान गरेको शाखा प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले जानकारी दिनुभयो ।

सन नेपाल लाईफ इन्स्योरेन्सले विसं.२०७५ सालमा गुल्मीमा कार्यालय विस्तार गरी जीवन बीमाको क्षेत्रमा सेवा उपलब्ध गराउँदै आएको छ । विमितलाई सहज तरिकाले सेवा दिनको लागि सन नेपाल लाईफ सुरुदेखि नै प्रतिबद्ध रहेको क्षेत्रीले बताउनुभयो । सन नेपाल लाईफले विभिन्न बीमा योजनाहरु मार्फत आफ्ना विमितहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

मृत्यु दावि भुक्तानीको लागि घरमै पुगेको कम्पनीको टोलीलाई वडा सदस्य भविश्वर गौतमले सहज तरिकाबाट विमितलाई मृत्यु दावी भुक्तानी दिएको भन्दै प्रशंसा गर्नुभयो । प्रबन्धक क्षेत्रीले आम नागरिकले जीवन बीमाको महत्व समयमानै बुझेर जीवन बीमा गराएमा बीमा मान्छेको बुढेसकालको साहारा हुने, आर्थिक सुरक्षा हुने, आश्रित परिवारको सुरक्षा हुनुका साथै अवको १५÷२० वर्षमा कोही पनि गरीवीमा छटपटाउनु पर्ने स्थिति सिर्जना नहुने भएकाले समयमै आफ्नो क्षमता अनुसार बीमा गर्नुपर्ने सुझाव दिनुभयो ।

केहि समय अघि कम्पनीले गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नं. ३ का धन बहादुर झाँक्रीको परिवारलाई विमाङ्क १० लाख, किरिया र अन्य खर्च वापतको एक लाख गरेर ११ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको थियो । झाँक्री वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेवीयामा कार्यरत थिए । उनको गत बैशाखमा घर आएको बेला मृत्यु भएको थियो ।