एमसीसी अनुमोदन हुन्छःकाँग्रेस सहमहामन्त्री पाण्डे

नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले संसदबाट एमसीसी अनुमोदन हुने बताउनुभएको छ । नेपाली काँग्रेस गुल्मीले आयोजना गरेको बृह्त कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा आउनुभएका काँग्रेस नेता पाण्डेले पत्रकारसंग पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा संक्षिप्त कुराकानी गर्दै एमसीसीले संसदको प्रक्रियाबाट नै निकाश पाउने बताउनुभयो ।

गठबन्धन पनि जोगाउने र एमसीसी पनि पारित गर्ने बताउँदै पाण्डेले पाँच दलिय गठबन्धनप्रति काँग्रेसको पूर्ण विश्वास रहेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘प्रचण्ड, माधव नेपालकाप्रति काँग्रेसको पूर्ण निष्ठा छ । हामी एकताको र मेलमिलापको भाव राख्छौं ।’ सरकारमा सहभागी गठबन्धनकै दलले एमसीसीको विरोध जनाउँदै आएका छन् । त्यसप्रति लक्ष्यित गर्दै सहमहामन्त्री पाण्डेले सरकारमा बसेर सरकारको कार्यसूची र ध्येयमाथि अवरोध सिर्जना गर्नुले गठबन्धनप्रति विश्वास प्रकट नहुने धारणा व्यक्त गर्नुभयो ।

वर्तमान गठबन्धन सरकारको निर्णयबाट च्यूत हुँदै जाने तर प्रमुख प्रतिपक्ष नेकपा एमाले एमसीसी पारितका लागि सहयोगी भएर आए पनि एमालेसंग गठबन्धनमा जाने काँग्रेसको सोंच भने नभएको बताउनुभयो । तर राजनैतिक घटनाक्रमले राजनीतिलाई जतापनि लान सक्ने बताउनुभयो । सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा बृह्त प्रशिक्षण सञ्चालन भइरहेको छ । बृह्त प्रशिक्षणको सहमहामन्त्री पाण्डेले उद्घाटन गर्नुभएको छ ।

त्यस अवसरमा नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले अहिलेसम्म निर्वाचनमा काँग्रेसले अध्यारोमा तारो हान्ने काम मात्रै गरेको बताउनुभयो । सभापति पन्थीले भन्नुभयो,–‘अहिलेसम्म विना तथ्यांकमा निर्वाचनमा गयौं । अध्यारोमा तारो हान्यौं ।’ पन्थीले यसरी निर्वाचनमा जित हासिल नहुने बताउनुभयो । अबको स्थानीयतहको निर्वाचनमा काँग्रेस तथ्याङ्क सहित निर्वाचनमा जाने दाबी गर्नुभयो ।

सभापति पन्थीले चैत्र पहिलो हप्तासम्म सम्पूर्ण उम्मेदवारको टुङ्गो लगाउने बताउनुभयो । सभापति पन्थीले भन्नुभयो,–‘विगतको चुनावमा उम्मेदवार समयमै तयार गर्न नसक्दा पराजय भोग्नु पर्यो । चुनावलाई व्यवस्थित गर्न सकेनौं ।’ अहिले गुल्मी काँग्रेसले जिल्लाका ९३ वडामा नै कार्यालय स्थापनामा जुटेको बताउनुभयो । विधि र विधान काँग्रेसको प्राण भएको बताउँदै पन्थीले नेपाली काँग्रेसको अठोट सबल वडा सक्षम टोल भन्ने नाराका साथ बृहत् प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनुभयो ।

नेपाली काँग्रेसका पूर्व सभापति त्रैलोक्य प्रताप सेनले गुल्मी काँग्रेस अहिले विचार र उमेरले युवा रहेको बताउनुभयो । तर गुल्मी काँग्रेसका अगाडी चुनौतीको पहाड र परीक्षाको घडि उभिएको बताउँदै भन्नुभयो,–‘अबको निर्वाचनमा गुल्मी काँग्रेसलाई २०४८ सालमा फर्काउनुछ । गत निर्वाचनको पीडादायी हारलाई जितमा रुपान्तरण गर्नुछ ।’ प्रशिक्षणमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेल, केन्द्रीय सदस्य चन्द्र केसी, लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, सदस्य विष्णुकुमारी सापकोटा लगायत जिल्लास्थित नेता तथा कार्यकर्ता सहभागी हुनुहुन्छ ।