गुल्मीको रेसुङ्गा नगरपालिकामा
माटो परीक्षण शिविर सञ्चालन
गुल्मीको रेसुङ्गा नगरपालिकाको आयोजना र माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेको प्राविधिक सहयोगमा हाट बजारमा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । भोलीसम्म सञ्चालन हुने माटो परीक्षण शिविरको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उदघाटन गर्नुभयो । मेयर भुसालले नगरपालिकाको मुख्य ध्यान नै कृषिमा भएको बताउनुभयो । मेयर भुसालले कृषकहरुले उत्पादन गरेको कृषि उपज संकलनका लागि शीत भण्डार सहितको हाटबजार निर्माण गरिएको बताउनुभयो । कोभिड–१९ का कारण नियमित रुपमा हाट बजार सञ्चालनमा कठिनाई भएको बताउँदै भुसालले कृषकहरुको प्रोत्साहनका लागि अनुदानको समेत व्यवस्था गरिएको बताउनुभयो ।
कृषिबाट नै रोजगारीको सिर्जना गर्न सकिने बताउँदै कृषकहरुलाई बढी भन्दा बढी उत्पादन गर्न आग्रह गर्नुभयो । कृषकहरुले उत्पादन गरेको उपज नगरपालिका आफैंले खरिद गर्ने भएकाले बजारको अभावमा बिचौलियाको भर पर्न नपर्ने बताउनुभयो । पछिल्लो समय व्यवसायिक कृषिप्रति पनि नागरिकहरुको चासो बढ्दै गएको बताउँदै समय–समयमा नगरपालिकाले आवश्क कृषि औजार तथा प्रविधिहरु समेत हस्तान्तरण गर्ने गरेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले प्रत्येक कृषकहरुले माटो परीक्षण गराउन आवश्यक रहेको बताउनुभयो । भण्डारीले माटो परीक्षण गरि माटोमा रहेको खाद्यतत्वका विषयमा जानकारी लिएर मात्र कृषि गरियो भने त्यसबाट लगानी अनुरुपको उत्पादन लिन सकिने बताउनुभयो । माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेका प्राविधिक खेम केसीले आफुहरुले लुम्बिनी प्रदेशका १२ जिल्लाका कृषककहरूको माटो परीक्षण गर्दै आएको बताउनुभयो । अहिले पनि कृषकहरुलाई माटो परीक्षणका लागि माटोको नमुना लिन समेत समस्या भइरहेकाले स्थानीय तहले उनीहरुका लागि माटोका नमुना संकलन विधिका विषयमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।
रेसुङ्गा नगरपालिका कृषि शाखा प्रमुख हरिशरण पन्थीले पहिलो दिन शुक्रबार रेसुङ्गा नगरपालिकाको वडा नम्बर १ देखि ६ वडाभित्र रहेका कृषकहरुले ल्याएको माटो परीक्षण गरिएको जानकारी दिनुभयो । शनिबार ७ नम्बर वडा देखि १४ वडा भित्रका कृषकहरुले ल्याएको माटो परीक्षण गरिने जानकारी दिनुभयो । त्यस अवसरमा उपप्रमुख सीता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडाअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।