गुल्मेली समाज जापानले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा छलफल गर्दै

सामाजिक क्षेत्रमा अग्रस्थान रही काम गर्दै आएको गुल्मेली समाज जापानले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समसामयिक विषयमा छलफल गर्ने भएको छ । गुल्मी जिल्लाबाट राष्ट्रको उच्च तहमा पुग्नुभएका विभिन्न व्यक्तित्वहरुसंग समसामयकि विषयमा छलफल गर्न लागिएको कार्यक्रम संयोजक समेत रहनुभएकी गुल्मेली समाज जापानकी महिला उपाध्यक्ष लक्ष्मी के.सी महर्जनले बताउनुभयो ।

गुल्मी जिल्लाबाट जापान गई विभिन्न पेसा÷व्यवसायमा संलग्न व्यक्तिहरूको संस्था गुल्मेली समाज जापानले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ समसामयिक विषयमा छलफल गर्न लागिएको संयोजक महर्जनको भनाइ छ ।

छलफलमा हाल काभ्रेपलाञ्चोकमा प्रमुख जिल्ला अधिकारीको रुपमा रहनुभएकी हुमकला पाण्डे, नेपाल कानुन आयोगकी उपसचिव बिमला पौडेल,उच्च सरकारी वकिल कार्यालय पाटन, ललितपुरकी उप न्यायधिवक्ता मुना पौडेल, प्रहरी उपरीक्षक दान बहादुर कार्की, महिला अधिकारकर्मी सिता भुसाल, सहभागी हुने गुल्मेली समाज जापानकी महासचिव संगीता कुँवरले जानकारी दिनुभएको छ । त्यस समाजका अध्यक्ष महेद्र कुमार अधिकारीले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महत्वपूर्ण विषयमा छलफल गर्न लागेको भन्दै शुभकामना ज्ञापन गर्नुभएको छ । भर्चूअल माध्यमबाट कार्यक्रम आयोजना गरिएको हो ।

केही दिन अघि मात्र गुल्मेली समाज जापानले यस अघि गुल्मी जिल्लाका पाँच जना मृगौला पीडितहरुका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । एक कार्यक्रमबिच मुसिकोट नगरपालिकाका देवेन्द्र गुरुङ, सोही नगरपालिकाका विष्णु थापा, इस्मा गाउँपालिकाका कुलबहादुर कुमाल र सोही गाउँपालिकाका मधु खत्री र चन्द्रकोट गाउँपालिका ७ का रेशम पौड्याललाई जनही ५० हजारका दरले रु. २ लाख ५० हजार सहयोग प्रदान गरेको थियो ।