आवश्यकता अनुसार स्थानीयतहमा गठबन्धन हुन्छः काँग्रेस नेता कोइराला

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्थानीयतहमा आवश्यकताका आधारमा मात्र गठबन्धन हुने बताउनुभएको छ। 

काँग्रेसले सञ्चालन गरेको घर–घर जाऔं, काँग्रेस जिताऔं अभियान सफल बनाउन केन्द्रबाट प्रतिनिधिको रुपमा गुल्मी आउनुभएका कोइरालाले आइतबार बीपी स्मृति भवन तम्घासमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा मात्र गठबन्धन गरिने उल्लेख गर्नुभयो ।

स्थानीयतहमा आवश्यकताका आधारमा गठनबन्धन गर्ने जिम्मा जिल्ला कार्य समितिलाई भएको भन्दै यद्यपि यसबारे केन्द्रले निर्णय भने गरिनसकेको बताउनुभयो । पत्रकारहरुले पार्टीभित्र अन्तरघातको विषयमा गरेको प्रश्नमा नेता कोइरालाले पार्टीका कुनै पनि जिम्मेवार नेता कार्यकर्तालाई अन्तरघात गर्ने छुट नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो,–‘यदि पार्टीको जिम्मेवार नेता÷कार्यकर्ताले अन्तरघात जस्ता क्रियाकलाप गरेको पाइए पार्टीको अनुशासन विपरितको कार्वाही हुन्छ ।’ 

उहाँले अभियानका माध्यमबाट काँग्रेस सरकारमा हुँदा भएका राम्रा कार्यहरु घर–घर लिएर जाने बताउनुभयो ।

काँग्रेसको नेतृत्वमा एमसिसि संसदबाट पारिएको भएको र यसबारे जनस्तरमा छरिएको भ्रम र दुष्प्रचारलाई बुँदागतरुपमा चिर्दै वास्तिवकता बुझाउने कार्य समेत अभियानले गर्ने उल्लेख गर्नुभयो ।

तत्कालीन नेकपाको सरकारले ३ वर्षे कार्यकालमा भएका जनविरोधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रुपमा राख्ने कोइरालाले बताउनुभयो । गलत कार्य गर्ने आफ्नै पार्टीको नेता भएपनि त्यसको विरोध गर्ने बताउनुभयो ।

काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले गुल्मी काँग्रेसको अठोट, सक्षम वडा सबल टोल अभियानले पनि जनतामा जागरुकता ल्याएको बताउनुभयो । सभापति पन्थीले यस अभियानका क्रममा हरेक नागरिकसंग संवाद गरिने बताउनुभयो ।

उहाँले अभियान दौडाहमा जनता समक्ष आफ्ना कुराहरु भन्ने मात्र नभई प्रत्यक्ष जनताका पीर, मर्काहरु र आश्यकताहरु सुन्ने र मनन् गर्ने बताउनुभयो । सभापति पन्थीले यस पटक पार्टीका जिम्मेवार कार्यकर्ता निर्वाचनमा निष्क्रिय बसेपनि पार्टीको अनुशासनको धारा आकर्षित हुने उल्लेख गर्नुभयो ।

सभापति पन्थीले भन्नुभयो,–‘चुनावमा असहयोग गर्ने त कुरै छोड्नुस, पार्टीले स्पष्ट विधानमा, नियमावलीमा लेखेर पठाएको छ । निष्क्रिय बसेपनि त्यो पार्टीको कर्मशिल कार्यकर्ता हुन सक्दैन् । उसतर्फ अनुशासनको धारा आकर्षित हुन्छ ।’ यसले निर्वाचनमा अन्तरघात हुने सम्भावनालाई घटाएको दाबी गर्नुभयो ।

पत्रकार सम्मेलनमा पार्टी सचिव जगदिश भट्टराईले यस अभियान अन्र्तगत गरिने कार्ययोजनाका विषयमा पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो । पत्रकार सम्मेलनको सहजीकरण पार्टीका अर्का सचिव भगसिंह खड्काले गर्नुभएको थियो । पत्रकार सम्मेलनमा जिल्लास्थित विभिन्न सञ्चार माध्यममा सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।