गुल्मीका प्रमुख जिल्ला अधिकारी पौडेलले गुल्मीका कृषकहरुको खुलेरै प्रशंसा
गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले गुल्मीका कृषकहरुको खुलेरै प्रशंसा गर्नुभयो । कृषि ज्ञान केन्द्रले हरित स्वंयमसेवकहरुका लागि तीन दिवसीय प्रविधि सिकाइ तालिम आयोजना गरेको थियो । बिहिबार तालिममा सहभागी कृषकहरुलाई प्रजिअ पौडेलले कृषि पेशा र कृषकहरुको आत्मसम्मानका लागि भन्दै खुलेरै प्रशंसा गर्नुभएको हो ।
प्रजिअ पौडेलले कृषि पेशा अझै पनि सम्मानित पेशा बन्न नसकिरहेको भन्दै कृषि बिना दिगो विकास समेत हुन नसक्ने विचार अघि सार्नुभयो । तर राज्यको ध्यान कृषिमा कम गइरहेकाले अब नीति निर्माण गर्ने सन्दर्भमा कृषिलाई पृष्ठपोषण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संसारकै मुख्य एजेण्डा गरिबी र भोकमरी हटाउने रहेको बताउनुभयो । पौडेलले कृषिबाटै गरिबी र सबै प्रकारका भोकमरी हटाउन सकिने उल्लेख गर्नुभयो ।
‘कृषि नभई विकास दिगो हुन सक्दैन् । जति धनि मुलुक भएपनि कृषि छैन् भने त्यो देश राम्रो मानिदैन् ।’ प्रजिअ पौडेलले उदाहरण दिंदै भन्नुभयो,–‘पैसा प्रशस्तै छ । प्रतिव्यक्ति आम्दानी पनि प्रशस्तै छ तर त्यति कृषि छैन् भने त्यो देश त्यति धेरै राम्रो मानिदैन् ।’ यही कुरालाई आत्मसाथ गर्दै तेल बेचिरहेका खाडी मुुलुकहरुले पनि अहिले कृषिमा लागिरहेका बताउनुभयो । कृषिको विकल्प नहुने भन्दै कृषि पेशालाई सम्मानित पेशा बनाउन सबै लाग्नुपर्ने प्रजिअ पौडेलको भनाइ छ ।
तीन दिने आवासीय तालिममा गुल्मीका ३८ जना सहभागी भएका थिए । नमुना कृषकको रुपमा छनौट भई तालिममा सहभागी उनीहरुले अन्य कृषकहरुलाई पनि व्यवसायीक बन्न प्रोत्साहन गर्ने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख कृषि विज्ञ नवराज भण्डारीले बताउनुभयो । हरित स्वयंसेवकहरुले अन्य कृषकहरुलाई व्यवसायिक बन्न लागि आवश्यक सल्लाह र प्राविधिक ज्ञान समेत प्रदान गर्ने भण्डारीले बताउनुभयो । कृषि ज्ञान केन्द्रका अधिकृत हरिप्रसाद आचार्यका अनुसार यस जिल्लाका ७३ वडामा हरित स्वंयम सेवक सञ्जाल गठन गरिएको छ ।
कालीगण्डकी गाउँपालिका–३ जयखानीका ४७ वर्षिय प्रकाश पाण्डे मगरले तालिमले उर्जा मिलेको बताउनुभयो । मगर हरित स्वंयम सेवक कृषक हुनुहुन्छ । उहाँले विगत पाँच वर्ष देखि व्यवसायिक रुपमा केरा खेती गर्दै आउनुभएको छ । २० रोपनीमा केरा खेति गर्दै आउनुभएका मगरले ६ सय बोट सुन्तला र ३ सय बोट कागती खेती पनि लगाउनुभएको छ । ४ वटा टनेलमा बेमौसमी तरकारी खेती समेत गर्दै आएको मगरले बताउनुभयो ।
उहाँलाई कृषि ज्ञान केन्द्रले पनि सहयोग गर्दै आएको छ । पालिकाबाट पनि सहयोग छ । कृषि ज्ञान केन्द्रले केरा खेती विस्तारका लागि ३ लाख अनुदान सहयोग ग¥र्यो । पालिकाले पनि २ लाख सहयोग ग¥र्यो । कृषि ज्ञान केन्द्रले समय–समयमा कृषकहरुको क्षमता तथा सीप विकासका लागि तालिम समेत दिँदै आएको छ ।
धुर्कोट गाउँपालिका–३ हाडहाडेका भविन्द्र घर्ति पनि नमुना कृषकको रुपमा परिचित हुनुहुन्छ । उहाँले रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा व्यवसायिक रुपमा मिश्रित व्यवसाय गर्दै आउनुभएको छ । २० रोपनी भन्दा धेरै जग्गामा तरकारी खेती गर्दै आएको घर्तिले बताउनुभयो । उहासँग अहिले ३२ बटा बङ्गुर, ३० वटा बाख्रा समेत छन् । आफै हरित स्वंयम सेवक पनि भएकाले आफ्नो वडामा पुगी अहिले व्यवसायिक कृषकका लागि प्रोत्साहन गर्ने बताउनुभयो ।
हरित स्वंयम सेवक सञ्जालका अध्यक्ष कृष्णबहादुर बस्नेतले कृषि नीति नभएका कारण कृषकहरुलाई समस्या भएको बताउनुभयो । बजारीकरण समस्या रहेको बताउँदै उहाँले राज्यले कृषिमा लगानी बढाउनुपर्ने धारणा राख्नुभयो । कृषिमा थोरै लगानीले कृषकको समस्या समाधान नहुने बस्नेतको भनाइ छ । सहभागीहरुले तालिम अत्यन्त प्रभावकारी भएको भन्दै आगामी दिनमा पनि यस्ता तालिमहरु सञ्चालन गर्न आवश्यक रहेको औंल्याएका छन् ।