सुशासनमा गुल्मीदरबार अब्बल जनप्रतिनिधि तथा कर्मचारीहरुको प्रशंसा
गुल्मीको गुल्मीदरबार गाउँपालिका सुशासन प्रवद्र्धनमा अब्बल देखिएको छ । गुल्मी दरबार गाउँपालिकाको आयोजना र भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीको सहयोगमा सरोकारवालाहरुसंग अन्तक्र्रिया गरिएको थियो ।
स्थानीय तहमा सुशासन प्रबद्र्धनका लागि गरिएको अन्तरक्रियामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सुशासन प्रबद्र्धनको क्षेत्रमा गाउँपालिकाले गरेका कामहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो । गाउँपालिकाले अध्यक्षसँग प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतसँग शाखा प्रमुखबीच करार कार्यसम्पादन सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।
गाउँपालिकामा कार्यसम्पादन अनुसार चौमासिक कर्मचारी मुल्याङ्कन, मासिक ई–बुलेटिन प्रकाशन, पहिचान सहितको लोगो निर्माण, सूचनाको हकको लागि स्वतः प्रकाशन, गुल्मीदरबार दर्पण नामक पुस्तक र भिडियो डकुमेन्ट्री निर्माण, गुल्मीदरबार नामक गीत, भूमि बैंकको स्थापना गरिएको पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकामा सहायता कक्षको स्थापना, १० सूचकमा कर्मचारीको मुल्याङ्कन, आन्तारिक आम्दानीको बृद्धि, कर्मचारीलाई स्थायी मोबाइल नम्बर उपलब्ध, गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालयमा ई–हाजिरीको व्यवस्था, बिजुली नहुँदा सोलारको व्यवस्था गरिएको छ ।
यस गाउँपालिकाले अनलाईन राजस्व प्रणालीको सुरुवात, कस्तो छ ? आमा कार्यक्रम, कृषकसँग गाउँपालिका कार्यक्रम, वडाबाट योजना सम्झौता, योजना सम्बन्धि विस्तृत विवरण लेखिएको पुस्तिकाको व्यवस्था, अपाङ्ग परिचयपत्र वितरण, अनलाईन माध्यमबाट घटनाहरु दर्ता, सामाजिक सञ्जाल र वेभसाइट मार्फत सूचना प्रबाह गरिरहेको छ ।
गाउँपालिकाका महत्वपूर्ण सूचना र कार्यक्रम प्रत्येकको मोबाईलमा म्यासेज जाने व्यवस्था, सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण, थप १५ कार्यविधिको निर्माण, हाम्रो गुल्मीदरबार नाम पुस्तक कक्षा १ मा लागु गरिएको, बिपद् व्यवस्थापन गर्न आवश्यक औजार खरिद, जनतासँग रेडियो कार्यक्रम संचालन गरेको जानकारी दिनुभयो ।
यस गाउँपालिकाले स्वमुल्याङ्कनमा ८१ प्रतिशत अंक प्राप्त गरेको, मासिक रुपमा कर्मचारी बैठक, वातावरण तथा फोहोरमैला व्यवस्थापन गर्न कार्यविधि निर्माण, लघु उद्यम मार्फत ९० उद्यमी तयार, २ सय १० जनालाई अनुशिक्षण तालिम, शुद्ध पिउने पानीको व्यवस्था, रणनैतिक योजनाहरु संचालन, वडामा अनलाईन अनुगमन, ९८ प्रतिशत खरका छानामुक्त घर गरेको छ ।
कृषि सम्बन्धि तालिम, कृषि गणना, विद्यार्थीसँग गाउँपालिका कार्यक्रम संचालन, खेलाडीसँग गाउँपालिका कार्यक्रम संचालन, सबै वडामा मेलमिलाप केन्द्र स्थापना, नियमित बजार अनुगमन, चौमासिक र वार्षिक समिक्षा, सार्वजानिक सुनुवाइ कार्यक्रम, कर्मचारी आचारणको मुल्याङ्कन, सुविधासम्पन्न सभाहलको निर्माण, टोल विकास गठन तथा परिचालन कार्यविधि निर्माण, सार्वजानिक जवाफदेहिता प्रबद्र्धन सम्बन्धि कार्यविधिको निर्माण र बार्षिक ई–बुलेटिन प्रकाशन लगायतका कामहरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।
भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले आफ्नो संस्थाबाट सरकारी तथा सार्वजानिक कार्यालयहरुको निगरानी, अनुगमन, प्रबद्र्धन, समन्वय, सहकार्य र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको सम्पर्क सूत्रको रुपमा रहेर काम भइरहेको बताउनुभयो । उहाँले गुल्मीदरबार गाउँपालिकाबाट सुशासन प्रबद्र्धनमा निकै उल्लखेनीय कामहरु भएको बताउनुभयो । गाउँपालिकाले गरेका क्रियाकलापहरुले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको पाण्डेले बताउनुभयो ।
भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पाण्डेका अनुसार राजनीतिक पक्ष, सामाजिक पक्ष, साँस्कृतिक पक्ष, आर्थिक पक्ष, संरचनागत पक्ष, कानुनी पक्ष र संघीय व्यवस्थाका कारण भ्रष्टाचार नियन्त्रण गर्न चुनौती भइरहेको छ । पाण्डेले गाउँपालिकालाई तेस्रो पक्षबाट अनुगमन गराउन, सचेतना कार्यक्रम गर्न, बिचौलियालाई निषेध गर्न र परम्परागत प्रक्रियालाई आधुनिकतातर्फ लैजाने लगायतका काम गर्न सुझाव दिनुभएको छ । नागरिकले पनि वडापत्र अध्ययन गर्ने, प्रक्रिया पुराउने, बिचौलियाको सहारा नलिन, गुनाँसो भन्ने र उजुरी दिने लगायतका कामहरु अनिवार्य गनुपर्ने पाण्डेले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले सुशासनको प्रबद्र्धनका लागि कानुनको शासन, नैतिक सत्य, निष्ठा, सहभागिता, जिम्मेवारी, उत्तरदायित्व, प्रभावकारिता र कार्यकुशलतामा ध्यान दिनुपर्ने बताउनुभयो । पौडेलले गुल्मीको गौरव र इतिहाससँग जोडिएको गुल्मीदरबार गाउँपालिका सुशासन प्रबद्र्धनमा अब्बल रहेको बतानुभयो ।
विकास निर्माणका काममा प्रभावकारिता गराउन सुशासन हुनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलको जोड छ । उहाँका अनसार कुनै व्यक्तिको नियत र अवसरमा भ्रष्टाचार साथै सुशासन निर्भर रहने गर्दछ । कुनै ब्यक्तिको नियत नभएमा भ्रष्टाचार नहुने र नियत भएपनि अवसर प्राप्त नभएमा भ्रष्टाचार नहुने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ रहेको थियो । नियत पनि नहुने र अवसर पनि प्राप्त नहुने भएमा सुशासन सजिलै प्रबद्र्धन हुने उहाँले बताउनुभयो ।
गाउँपालिकाकी कार्यावाहक अध्यक्ष मीना भण्डारीले सुशासन प्रबद्र्धन सम्बन्धि कार्यपत्र प्रस्तुत गर्ने प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल र भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेलाई धन्यवाद् दिनुभयो ।
सुचना प्रवाह र जनसहभागितामा आफूहरुले ध्यान दिएको भन्दै गाउँपालिकाकी कार्यावाहक अध्यक्ष भण्डारीले स्थानीयहरुमा सकारात्मक सोचको विकास भएमा समाज परिवर्तन गर्न सकिने बताउनुभयो । कार्यक्रममा सहभागिहरुले सुशासन प्रबद्र्धनमा गुल्मीदरबार गाउँपालिका अब्बल रहेकोमा जनप्रतिनिधि तथा कर्मचारीहरुको प्रशंसा गरेका थिए । कार्यक्रमको संचालन भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीका कोषाध्यक्ष कृष्ण पोखरेलले गर्नुभएको थियो ।