वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताउनुभएको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले अनिवार्यरुपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइए कडा कारवाही गरिने बताउनुभयो । श्रेष्ठले सेवाग्राहीहरुलाई प्रदान गरेको सूचना र जानकारीले वैदेशिक रोजगारी सुरक्षित र उपलब्धीमूलक हुने भएकोले पूर्व प्रस्थान अभिमुखिकरण तालिमलाई प्रभावकारी र समयानुकुल बनाइने बताउनुभयो । अभिमुखीकरण तालीम प्रदायक संस्थाहरुलाई मर्ज गरेर स्तरीय सेवा प्रवाहको सुनिश्चितता गरिने मन्त्री श्रेष्ठको भनाइ छ ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले पूर्व प्रस्थान अभिमुखिकरण तालिमको अभावले वैदेशिक रोजगारीका क्रममा जोखिम बढाउने भन्दै यसलाई औपचारिकतामा मात्र सिमित गर्न नहुने बताउनुभयो ।