स्थानीय आवश्यकता अनुसार तालमेल गर्न गठवन्धनको अपिल, मोडालिटी मंगलबार

काठमाडौं । सत्ता गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्ने सहमति गर्दै आपसी सहकार्य र परस्पर सहयोगको भावनाबाट अघि बढ्न सबै नेता कार्यकर्तासंग अपिल गरेको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा सोमबार बसेको गठबन्धनको संयन्त्र बैठकले संयुक्तरुपमा अपिल जारी गर्दै स्थानीय तह चुनावमा उत्साहजनक सहभागितासहित सफल पार्न र पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी गराउन आग्रह समेत गरेको छ ।
गठबन्धनले यसअघिका सबै मतभेदलाई पर पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् ।
त्यस्तै गठबन्धनले नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेपनि त्यस्तो परिवर्तन नचाहने शक्तिहरूले षड्यन्त्र गरिरहेको आरोप लगाउदै संसद माथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अंगहरुमा पैदा गराईएको बेथितिले लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुस्प्रयास भएको जनाएको छ ।
गठबन्धन संयन्त्रको बैठकले गठबन्धनका उम्मेद्वारलाई कसरी बिजयी गराउने भन्ने बिषयमा बृहत छलफल गरेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
चुनावी तालमेलको मोडालिटी तयार गर्न मंगलबार दिउँसो ४ बजे गठबन्धनको अर्को बैठक बोलाइएको कार्कीले जानकारी दिनुभयो ।