किन हुन्छ दैनिक लोडसेडिङ्ग ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ऊर्जाको माग धान्न नसक्दा अघोषित लोड सेडिङ गर्दै आएको छ । उत्पादनमा कमि भएको र भारतीय बजारमा बिड गर्दा समेत विद्युत खरिद गर्न नसक्दा प्राधिकरण लोडसेडिङ्ग गर्न बाध्य छ । रुस र युक्रेनको युद्धका र पेट्रोलियम पदार्थको आयातमा कमि भएको कारण देखाएर भारु प्रति युनिट ३८ रुपैयाँमा पनि विजुली नदिने भएपछि ऊर्जा संकट थपिएको हो । मुुलुकबाट लोडसेटिङ अन्त्य गरेको घोषणा गरेका प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ यतिबेला पर्याप्त बिजुली आपुर्ति गर्न नसकेर जनताको गाली खाइरहेका छन् । घिसिङको पहिलो कार्यकालमा विद्युत आयातको वातावरण सहज बनेको र आफू हिरो भएको भन्दै मिडियावाजी गरेका उनी यतिबेला विद्युत किन्न नसकेर आफ्नो पुरानो साख गुमाउँदै छन् ।
प्राधिकरणस्रोतका अनुसार अहिले पनि ऊर्जा मिलाएर बितरण गर्न सकिने धेरै आधारहरु छन् । तर, नेतृत्वको कमिसन मोह र नयाँ निर्माण गर्ने नाममा भएको अलमलका कारण समस्या बढेको उक्तस्रोत बताउँछ । नयाँ जडान र निर्माणको नाममा साँझको बेलामा बत्ति काटेर एउटा रुटबाट अर्को रुटमा पठाएको कारण झ्यापका झ्याप बत्ति गइरहेको छ । जुन काम दिनमा गर्न
सकिने भएपनि साँझको समयमा १५ मिनेट मात्र बत्ति कटौती गर्दा पनि धेरै युनिट विद्युत बचत गर्न सकिन्छ । त्यही कारण यो काम साँझको समयमा प्राधिकरणले गर्दै आएको बताइन्छ ।
कुलमानको बदमासी र बर्तमान संकट
नेपाल विद्युत प्राधिकरणले पीपीए लामो समयसम्म रोकेका कारण अहिलेको समस्या आएको स्वतन्त्र ऊर्जा उत्पादक संघका एक सदस्यले जानकारी दिएका छन । उनी भन्छन ‘नियमित रुपमा पीपीए गरेको भए अहिलेको समस्या आउँदैन थियो ।’ पहिलो कार्यकालमा घिसिङ प्राधिकरणबाट बाहिरिदै गर्दा १ हजार ८ सय मेगावाटको पीपीए गरेर निस्किएका थिए । पीपीए गर्दा आउने कमिसनमा ¥याल चुहाँउदा घिसिङले अन्य स्रोत नदेखेर त्यो काम गरेका थिए । लामो समय रोकिएका पीपीए अहिले चुनावको मुखमा आएर कमिसनको लागि खुल्ला गरिएको जानकार स्रोत बताउँछ । यसमा पनि मोटो रकम कमिसनको खेल भएको बताइएको छ । अर्का, ऊर्जा उद्यमी भन्छन् ‘पीपीए गर्नका लागि अनेक समस्या देखाएर रोक्न खोजिन्छ । उद्यमीको खर्च र लगानी धेरै भइसकेको अवस्थामा पैसा खुवाएर भएपनि पनि पीपीए गर्नैपर्छ । नत्र हाम्रो समय, लगानी सबै खेर जान्छ । हाम्रो पीडा विद्युत प्राधिकरणले कहिल्यै बुझेन अनि सुनेन ।’
नेपाली उत्पादनको पीपीए गर्दा मुख्यतय दुईटा दर राखिएको छ । पहिलो भनेको ४ रुपैैयाँ ८० पैसा र ८ रुपैयाँ ४० पैसा राखेको हुन्छ । तर कतिपय पुरानाको हकमा ३ रुपैयाँ ९० पैसा पनि मुल्य निर्धारण गरेको छ । यो दरमा नेपाली उत्पादन महंगो भयो भनेर पीपीए गर्न आनाकानी गरेको प्राधिकरणले भारतबाट भने प्रति युनिट भारु ३८ मा विद्युत किन्ने प्रस्ताव गरेको देखेर दुःख लागेको उद्यमीले साँघुलाई जानकारी गराए । माग गरेको आधारमा पीपीए गर्न दिएको भए यति महंगो मूल्यमा विद्युत खरिद गर्नुपर्ने थिएन । तर घिसिङको अहंमताका कारण यो अवस्था आएको बताइन्छ । यसमा ध्यान दिएर काम नगर्ने हो भने अझै पनि अवस्था विकराल बन्न सक्छ ।
उद्योगलाई मागका आधारमा विद्युत दिने भनेर हुइँया चलाएको केही महिनामा नै विद्युत अभाव भएको भन्दै १४ घण्टासम्मको अघोषित लोडसेडिङ गरिएको छ । यसबाट आयातित बजारलाई झनै प्रशय मिल्नेछ । नेपाली उत्पादन कमजोर भएको अवस्थामा यो अघोषित लोडसेडिङले झन समस्या थपेको छ । उता बढी विद्युत खपत गर्ने भन्दै प्रवद्र्धन गरेको इन्डक्सन चुलो भने यतिबेला खिया लाग्न थालेको छ । तर घिसिङ भने केही प्राविधिक समस्या मात्र भएको र लोडसेडिङ नगरिएको दावी गर्दै काँचो सुपारी चपाउँदै रमाई रहेका छन् ।