तालमेलबारे प्रदेश इन्चार्जहरुको व्रिफिङले झस्किए प्रचण्ड
काठमाडौं । नेकपा माओवादीका प्रदेश इञ्चार्जहरूले गठबन्धनका दलहरूबीच सैद्धान्तिक सहमति भएपनि चुनावी तालमेलमा अप्ठ्यारो रहेको बताएपछि अध्यक्ष पुष्पकमल दाहाल झस्किएको स्रोतको दावी छ ।
शुक्रबार प्रचण्ड निवासमा भएको पूर्वस्थायी कमिटी सदस्य र प्रदेश इन्चार्जहरुको वैठकमा नेपाली कांग्रेसले अधिकांश स्थानीय तहमा दाबी नछाडेको र नेकपा एसले पनि हैसियतभन्दा धेरै दाबी गरेकाले तालमेलमा अप्ठ्यारो भएको उनीहरूको ब्रिफिङ थियो ।
बैठकमा सहभागी एक नेताका अनुसार मधेश प्रदेशका इञ्चार्ज गणेश साह, बागमतीका हितमान शाक्य, सूदूरपश्चिमका खगराज भट्टलगायतले तालमेल कतै पनि सहज नभएको बताएका थिए । प्रदेश १ का इन्चार्ज राम कार्की बैठकमा उपस्थित थिएनन् भने गण्डकी प्रदेशको बारेमा देवेन्द्र पौडेलले कुरा राखेका थिए ।
गठबन्धनबीच तालमेल गर्ने कुराले कार्यकर्तामा उत्साहित भएपनि व्यवहारमा कार्यान्वयन गर्न प्रदेशको रिपोर्टिङ गर्ने नेताहरूले त्यति सहज नभएको बताएका छन् ।
नेपाली कांग्रेसका दोस्रो तहका नेताहरूले चुनावमा तालमेल गर्न नहुने धारणा राखिरहेका बेला अध्यक्ष दाहालले कांग्रेससँग नभए गठबन्धनका अन्य दल मिलेर जाने बताएका थिए । तर प्रदेशका इञ्चार्जहरूले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)सँग पनि तालमेल अप्ठ्यारो रहेको बताएका थिए ।
भविष्यमा पार्टी एकता समेत गर्न सकिने बताउँदै आएको नेकपा एससँग चुनावी तालमेलमा समेत अप्ठ्यारो रहेको रिपोर्टिङले प्रचण्ड झस्किएको स्रोतको दावी छ ।
मधेश र सुदूरपश्चिम प्रदेशमा नेकपा एसले हैसियतभन्दा बढी दाबी गरेको इन्चार्जहरुले बताएका थिए । ती दुवै प्रदेश सभामा एमालेभन्दा नेकपा एसका सांसद बढी छन् ।
इञ्चार्जहरूको रिपोर्टिङ सुनिसकेपछि प्रचण्डले कांग्रेसको मूल नेतृत्व तालमेल गरेरै अगाडि बढ्न तयार रहे पनि केही नेता त्यसको विपक्षमा रहेको बारे आफू जानकार रहेको बताउँदै तालमेलका लागि अधिकतम पहल गर्ने, नभए गठबन्धनका दलहरूसँग पनि मित्रवत प्रतिस्पर्धा गर्ने निष्कर्ष सुनाएको एक नेताले बताएका छन् ।
सार्वजनिक कार्यक्रमहरूमा चुनावी तालमेलबारे बोल्दै आएका प्रचण्डले शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा गठवन्धन बारे खासै नबोलेकाले पनि संशय उत्पन्न भएको छ ।
माओवादी केन्द्रका मधेश प्रदेश इञ्चार्ज गणेश साहले मधेशमा पनि तालमेलका लागि सहज नरहेको बताएका थिए । नेपाली कांग्रेसको आफ्नै दाबी, नेकपा एस र जसपाको आ–आफ्नै दाबीका कारण मधेश प्रदेशमा चुनावी तालमेल अप्ठ्यारो रहेको साहले बताएका छन् । उपेन्द्र यादवको पार्टीले मधेशमा सबैभन्दा धेरै हिस्सा मागेकाले पनि तालमेल गर्न अप्ठ्यारो भएको माओवादी नेताहरूले बताएका छन् ।