विप्लवलाई सहभागि गराउने वहानामा चुनाव सार्ने प्रचण्ड–माधवको दाउ

देउवा मौन, चुनाव सारिए दुर्घटना हुने आयोगको चेतावनी

काठमाडौं । सत्ता गठवन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी निर्वाचनमा सहभागी भए वैशाख ३० को स्थानीय निर्वाचन सार्न सकिने बताएपछि निर्वाचन सार्ने षडयन्त्र त भइरहेको छैन ? भन्ने आशंका उब्जिएको छ ।
अध्यक्ष नेपालले विद्रोही विचार बोकेको एउटा समूह शान्तिपूर्ण राजनीतिमा आउनु मुलुककै लागि फाइदाजनक भएको दाबी गरेका छन् । विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता छैन । पार्टीभित्र स्थानीय चुनावमा भाग लिने कि नलिने भन्ने वहस भएको थियो । पार्टीको केन्द्रीय कमिटी वैठकमा महासचिव चन्दले निर्वाचन उपयोग गरेर अघि बढ्न् प्रस्ताव पेश गरेका थिए । तर वहुमत सदस्य चुनाव वहिस्कारको उभिएपछि निर्वाचनमा सहभागि नहुने तर स्वतन्त्र उम्मेदवारी दिन पाइने निर्णय गरेको थियो । निर्वाचन सहभागि हुने चाहना राख्ने महासचिव चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्षले पार्टीबाट निर्णय गराउन नसकेपनि निर्वाचनमा सहभागि हुने प्रयास भने गरिरहेको छ । प्रवक्ता विश्वकर्माले निर्वाचन आयोगदेखि सरकारका प्रनिधिहिरुलाई समेत भेटेर आफ्नो पार्टीलाई निर्वाचनमा सहभागि हुने वातावरण मिलाइदिन आग्रह गरेको थियो । निर्वाचन आयोगले अब त्यो सम्भावना नरहेको बताइसकेका छ ।
माधव नेपालले नेत्रविक्रम चन्दलाई चुनावमा सहभागी गराउन केही अवधि थपेर भएपनि मौका दिनुपर्छ भनेका छन् भने पुष्पकमल दाहाल पनि कुनै पनि वहानामा चुनाव सार्न पाए हुन्थ्यो भन्ने पक्षमा देखिन्छन् । उनीहरुलाई स्थानीय तहको तालमेलको नतिजाले संसदीय चुनाव प्रभावित हुन सक्ने डर छ । संघीय निर्वाचनमा तालमेल नभएमा सत्ताबाट हात धुनुपर्ने अवस्था आउने भयले ग्रस्त माधव नेपाल, पुष्पकमल दाहाल सकेसम्म स्थनीय, प्रदेश र संघीय निर्वाचन एकै पटक गर्नुपर्ने पक्षमा अझै पनि लागेका छन् । तर सत्ताको नेतृत्व गरिरहेका प्रम तथा कांग्रेस सभापति शेरबहादुर देउवाले यस विषयमा कुनै धारणा व्यक्त नगरेको हुँदा पुष्पकमल दाहाल र माधव नेपालको चाहनामा चुनाव सर्ने सम्भावना देखिदैन । तर पनि चुनाव सर्ने हो कि भन्ने संशय भने उत्पन्न भएको छ ।
यता निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन तयारी रकेटको गतिमा रहेकाले रोक्न नमिल्ने बताएका छन् । वैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताउँदै थपलियाले चुनाव सारिए देश दुर्घटनामा जाने चेतावनी दिएका छन् ।
शनिबार जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखिकरणलाई सम्बोधन गर्दै थपलियाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताए । निर्वाचनको तयारी भइरहँदा निर्वाचनप्रति संशय उत्पन्न हुने किसिमको अभिव्यक्ति आउनु दुःखद भएको उनले बताएका छन् ।
कुनै तरिकाले निर्वाचन सार्ने काम गरिए दुर्घटना निम्तिन सक्ने र लोकतन्त्रका निम्ति अप्रिय हुन सक्ने चेतावनी दिँदै प्रमुख आयुक्त थपलियाले निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने दावी गरेका छन् । उनले आचारसंहितको उल्लंघन नगर्न आग्रह गरेका छन् । निर्वाचन आचारसंहिताको उलंघन गर्नेलाई कारवाही हुने बताउँदै प्रमुख आयुक्त थपलियाले केहीसँग स्पष्टीकरण समेत सोधिसकिएको बताएका छन् ।
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्दै काङ्ग्रेस नेता सशांक कोइरालाले निर्वाचनमा ६ करोड खर्च भएको अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको थपलियाले बताएका छन् । आचारसंहिता उल्लंघन गर्ने नेकपा समाजवादीलगायत दलसँग पनि जवाफ मागिएको उनले बताएका छन् ।
सत्तारुढ दलहरुले कुनै षडयन्त्र गरेर चुनाव सारिएमा त्यसको दुष्परिणाम भोग्न सरकार तयार हुनुपर्छ भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका छन् । ओलीले भने झै वैशाख ३० को चुनाव अदालतबाटै रोकिन सक्ने आशंका त छदैछ । यस्तै तर्कलाई पुष्टि गर्ने समाचारहरु सार्वजनिक भएका छन् । २०७४ असोज २ मा स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल पूर्णरुपले पाँच वर्ष नपुगेको हुँदा चुनाव सार्न चाहनेहरुलाई अदालतलाई प्रयाग गर्न सक्ने आशंका पनि एमाले नेताहरुले गरेका छन् । तर निर्वाचन आयोगले विभिन्न जिल्लामा निर्वाचत अधिकृत तोकेर वैशाख ३० मै चुनावको तयारी गरिरहेकाले संविधान र ऐनको व्यवस्थामा रहेर चुनाव गरिने धेरैको विश्वास छ ।